आज दशैंको फूलपाती भित्राइँदै, के हो फूलपाती महिमा ?

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।

काठमाडौं । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ नौ वटै देवीको विधिपूर्वक पूजा गर्ने वैदिक विधि छ ।

केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ ।

फूलपाती भित्राउन साइतको आवश्यकता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्राउने परम्परा छ ।

गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहिआएको छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

हनुमानढोकामा यस वर्षको फूलपाती अपराह्न भित्राइने कार्यक्रम छ । फूलपाती लिन शनिबार नै राजधानीबाट एक समूह धादिङको जीवनपुर गएको छ । जीवनपुरबाट स्वयम्भू हुँदै राजधानीबाट गएको समूहले फूलपाती ल्याउने छ । त्यस क्रममा स्वयम्भूको वनबाट माने नामको फूल पनि नवपत्रिकामा समावेश गरिन्छ । स्वयम्भूबाट जमलको दशैंघरमा फूलपाती आइपुग्ने छ । जमलमा हनुमानढोकाबाट गएको समूहले स्वागत गरी भित्र्याउने गरिन्छ ।


फूलपाती भित्र्याउने यात्राः धार्मिक विधि र सांस्कृतिक महत्त्व

सप्तमीको दिन काठमाडौंमा गोरखाबाट विशेष विधि अनुसार फूलपाती भित्र्याइन्छ, जसले दशैँको औपचारिक सुरुवातको संकेत गर्दछ। यो यात्रा केवल फूल र पात लिएर आउने मात्र होइन, धार्मिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ ।

फूलपाती ल्याउने क्रममा पुरोहित र पुजारीको मार्गदर्शनमा विशेष पूजा विधि र मन्त्रपाठ गरिन्छ। यसरी फूलपातीलाई धर्मशास्त्र अनुसार भित्र्याउँदा देवी दुर्गाको आशीर्वाद प्राप्त हुन्छ र घर-परिवारमा सुख-शान्ति, समृद्धि र सुरक्षा सुनिश्चित हुने विश्वास छ ।

यो यात्रा केवल धार्मिक कर्मकाण्डमा सीमित छैन। सामाजिक दृष्टिले पनि यो परम्परा अत्यन्त महत्त्वपूर्ण छ, किनभने यसले समुदायका मानिसलाई एकै ठाउँमा भेला गराएर मेलमिलाप, सहकार्य र सांस्कृतिक एकताको वातावरण सिर्जना गर्छ ।

गोरखाबाट फूलपाती ल्याउने यो विधि, धार्मिक भक्ति र सांस्कृतिक रौनकको मिश्रण हो, जसले दशैँको उत्सवलाई अझ जीवन्त, रंगीन र अर्थपूर्ण बनाउँछ ।