रिभर फल्सले थप्यो शतप्रतिशत हकप्रदमा आवेदन दिने अवधि
साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।
काठमाडौं । रिभर फल्स पावरले भदौ २३ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरेको छ । कम्पनीको १०० प्रतिशत हकप्रद सेयरमा अब असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा ७० करोड रुपैयाँबराबरको हकप्रद सेयर निष्काशन गरेको हो ।
साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका बेशिसहर, पोखरा, वीरगंज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, सि आस्बामा सहभागी बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ ।