बडा दशैँको छैटौँ दिन आज कात्यायिनी भगवतीको पूजा, अर्चना गरिँदै

विज्ञापन
ncell

आज कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुख, दरिद्रजस्ता संकट नाश भई मानिस प्रगतिपथमा अगाडि बढ्ने धार्मिक विश्वास छ ।

काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडा दशैँको छैटौँ दिन आज कात्यायिनी भगवतीको पूजा, अर्चना गरिदै छ । नवरात्रीको छैटौँ दिन अष्टमातृका भगवतीको छैठौँ शक्तिका रुपमा कात्यायिनी भगवतीको पूजाअर्चना गर्ने परम्परा छ ।

आज कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुख, दरिद्रजस्ता संकट नाश भई मानिस प्रगतिपथमा अगाडि बढ्ने धार्मिक विश्वास छ ।

माता कात्यायनी अमोघ फलदायनी हुन् । भगवान् कृष्णलाई पतिका रूपमा पाउनको लागि व्रजका गोपिनीहरूले यिनै कात्यायनी देवीको पूजा कालिन्दी यमुनाको तिरमा गरेका थिए । यिनी व्रजमण्डलकी अधिष्ठात्री देवीको रूपमा प्रतिष्ठित छिन् । यिनको रूप अत्यन्त भव्य र दिव्य छ । यिनको वर्ण स्वर्णसमान चम्किलो तथा भास्वर छ । यिनी चतुर्भूजरूप धारिणी छिन् । दाहिनेतर्फको माथिल्लो हात अभय मुद्रामा छ । तल्लो हात वरमुद्रामा छ । देब्रेतर्फको माथिल्लो हातमा तरबार छ भने तल्लो हातमा कमल पुष्प सुशोभित छ ।

दुर्गा पूजाको नवरात्रिको छैठौं दिनमा साधकले माता कात्यायनीको चरणमा आफ्नो सर्वस्व निवेदित गरिदिनु पर्दछ । परिपूर्ण आत्मदान गर्ने भक्तले सहज भावले कात्यायनीको दर्शन प्राप्त गर्न सफल हुन्छन् । कात्यायनीको भक्ति र उपासनाद्वारा मानिसले सहजताका साथ अर्थ, धर्म, काम र मोक्षजस्ता चारवटै फलहरूको प्राप्ति गर्न सक्दछ । ऊ यसै लोकमा रहेर पनि अलौकिक तेज र प्रभायुक्त हुन पुग्दछ । उसका रोग, शोक, भोक, सन्ताप, भय आदि सर्वथा विनष्ट भएर जान्छन् भन्ने धार्मिक विश्वास छ ।

काठमाडौं उपत्यका भित्रका गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिन्छ ।