जाँचबुझ आयोगले सुरु गर्‍यो काम, सरकार र निजी क्षेत्रसँग माग्यो क्षतिको विवरण

जेनजीको आन्दोलनमा भदौ २३ गते भएको प्रहरी दमन र २४ गते भएको तोडफोड र आगजनीको अध्ययन गरि दोषीलाई कारबाहीको सिफारिस गर्न सरकारले असोज ५ गते तीन सदस्यीय आयोग गठन गरेको थियो ।

काठमाडौं । सरकारी जाँचबुझ आयोगले काम सुरु गरेको छ। आयोगले जेनजीको आन्दोलनका क्रममा भएको भौतिक क्षतिको विवरण माग गरेको छ ।

आयोगको बिहीबार बसेको पहिलो बैठकले सरकारी निकायमा भएको क्षतिको विवरण गृह मन्त्रालय तथा न्यायालयमा भएको क्षतिको विवरण सर्वोच्च अदालतसँग माग्ने निर्णय गरेको छ ।

यस्तै संवैधानिक निकायको हकमा सम्बन्धित संवैधानिक निकाय, प्रदेशको हकमा सम्बन्धित मुख्यमन्त्रीको कार्यालय, स्थानीय तहको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र व्यापारिक प्रतिष्ठानको हकमा नेपाल उद्योग वाणिज्य महासंघ वा नेपाल उद्योग परिसंघमार्फत माग्ने निर्णय भएको छ ।

निजी सम्पत्ति गुमाउनेहरुले आयोगमा सिधै जानकारी गराउन सक्नेछन् । जेनजीको आन्दोलनमा भदौ २३ गते भएको प्रहरी दमन र २४ गते भएको तोडफोड र आगजनीको अध्ययन गरि दोषीलाई कारबाहीको सिफारिस गर्न सरकारले असोज ५ गते तीन सदस्यीय आयोग गठन गरेको थियो ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । आयोगको कार्यालय जलवायु तथा विज्ञान विभागको बबरमहलस्थित भवनमा राखिएको छ ।