प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामावली संकलन खुलाइयो, कात्तिक ३० गतेसम्म म्याद

विज्ञापन
ncell

आयोगका अनुसार १६ वर्ष उमेर पूरा भएका नेपालीले नागरिकताको प्रमाणपत्रसहित प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा नाम दर्ता गराउन सक्नेछन् ।

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ ।

मतदाता नामावली संकलन सम्बन्धमा अध्यादेश जारी भएको भोलिपल्ट बिहीबार निर्वाचन आयोगले मिति तय गरेको हो । आगामी २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन कात्तिक ३० गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ।

आयोगका अनुसार १६ वर्ष उमेर पूरा भएका नेपालीले नागरिकताको प्रमाणपत्रसहित प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा नाम दर्ता गराउन सक्नेछन् । सार्वजनिक बिदाको दिन बाहेक बिहान ८:०० बजेदेखि साँझ ६:०० बजेसम्म नामावली दर्ताको काम हुने आयोगले जनाएको छ ।

मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रममा कानुन बमोजिम मतदाता हुन योग्यता पुगेका नेपाली नागरिकले आफ्नो नाम दर्ता गर्न सक्ने व्यवस्थाका अतिरिक्त विवाह भई अन्यत्र गएका, बसाइ सराइँ गरेका मतदाताले ठाउँसारी गर्न सक्ने र नाम तथा अन्य विवरणमा त्रुटि भएमा सच्याउन सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।