ठाउँठाउँमा बाटो अवरोधकाबीच घटस्थापना पछि १ लाख ३८ हजार यात्रुले छाडे काठमाडौं
यात्रुको सहजताका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न सङ्घ संस्थाको सहकार्यमा काठमाडौं उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
काठमाडौं । घटस्थापना पछिका तीन दिनमा एक लाख ३८ हजार दुई सय ९६ यात्रुले काठमाडौं छाडेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते (घटस्थापना)का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४ र असोज ८ गते ५७ हजार ५५९ यात्रुले काठमाडौं छाडेका हुन् ।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले देशका विभिन्न क्षेत्रबाट काठमाडौं उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दशैं मनाउन घर जान थालेको जानकारी दिए ।
उनका अनुसार उक्त तथ्याङ्क थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट उक्त यात्रुहरू गन्तव्यस्थलमा गएकाहरूको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारले पानी परेका कारण राजमार्गमा पहिरो जाँदा सवारी साधनलाई आवतजावतमा समस्या परेको बताए ।
'मुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरो जाँदा घण्टौंसम्म सवारी साधन बाटोमा रोकिएका छन्, जसका कारण समयमै काठमाडौंमा बस नआउँदा यात्रुलाई गन्तव्यस्थलसम्म पठाउन समस्या भएको छ,' अध्यक्ष स्वारले भने । काठमाडौं गोँगबुस्थित राष्ट्रिय बसपार्क नयाँ बसपार्कमा समेत दशैंमा घर जाने यात्रुको चाप बढ्न थालेको छ ।
नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले नयाँ बसपार्कबाट दैनिक ५०० बस बाहिरिन थालेको बताए ।
उनले अरु समयमा दैनिक औसतमा दुई सय ५० बस बाहिरिए पनि अहिले उक्त सङ्ख्यामा वृद्धि भएको बताए । यात्रुको सहजताका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न सङ्घ संस्थाको सहकार्यमा काठमाडौं उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८२।०६।०९ गते १६:२० बजे सम्म ।
१.जि. चितवन नारायणगढ मुग्लिङ सडक पुर्ण रुपमा अबरोध भएको ।
मिति २०८२।०६।०७ गते १५:२० बजेको समयमा जिल्ला चितवन इच्छाकामना गा.पा.५ नारायणगढ मुग्लिङ सडकको तुइनखोलामा पुन सुख्खा पहिरो आई बाटो पुर्ण रुपमा अबरोध भएको ।
२.वि.पि. राजमार्ग रातिको समयमा मनसुन अवधिभर बन्द रहने ।
मनसुन सक्रिय भएकोले बर्षातका कारण विपद्को घटना हुन नदिनको लागि मिति २०८२/०६/०१ गते देखि अर्को सुचना नआएसम्म (प्रत्येक दिन बेलुका २०:०० देखि विहान ०५:०० बजे सम्म ) रातिको समयमा वि.पि. राजमार्गमा भाडाका सवारी साधन आवागमनमा रोक लगाईएको र अन्य निजि सवारी साधन सुचारु गरेको व्यहोरा जानकारीको लागि अनुरोध ।
३. जि.रसुवा: बाढीले नेपाल र चिन नाका जोड्ने मितेरी पुल क्षति भएको ।
मिति २०८२।०३।२४ गते अं.०३:०० बजेको समयमा जिल्ला रसुवा गोसाइकुण्ड गा.पा. वडा नं.-२ स्थित रसुवागढीमा बाढी आई नेपाल र चिन नाका जोड्ने पुलमा क्षति भई सवारी साधन आवत-जावत बन्द भएको ।
४. जि.संखुवासभा भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध ।
मिति २०८२।०२।०६ गते १२:०० बजेको समयमा जि. संखुवासभा भोटखोला गा.पा.४ स्थित बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रुपमा अवरोध भएको । बर्षातको अबधिभर सुचारु हुन नसक्ने ।
५.जिल्ला संखुवासभा मकालु गा.पा.३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्ड पुर्ण रुपमा अवरोध भएको ।
मिति २०८२।०५।१५ गते ००:०० बजे जिल्ला संखुवासभा मकालु गा.पा.३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पहिरो झरी बाटो पुर्ण रुपमा अवरोध भएको ।