सरकारले खोल्यो भौतिक पूर्वाधार पुनर्निर्माण कोष, सहयोग गर्न स्वदेशी तथा विदेशी संघ संस्थालाई आग्रह

भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान र राहत लगायतका कार्यको लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको हो ।

काठमाडौं । जेनजी आन्दोलनको क्रममा तोडफोड तथा आगजनी भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको छ ।

५ असोजको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार अर्थ मन्त्रालयले ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश २०८२’ जारी गरेको थियो । मन्त्रालयका अनुसार भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान र राहत लगायतका कार्यको लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको हो ।

सोही आदेश अनुसार कोष खडा गरी योगदान गर्न सबैलाई आह्वान गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार जेन जी आन्दोलन क्रममा तोडफोड र आगजनी भएका संरचना पुनर्निर्माणका लागि सरकारले कोष स्थापना गरेको हो ।

मन्त्रालयले कोषमा संघीय सरकार, प्रदेश सरकार एवं स्थानीय तह,निजी क्षेत्र,स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेको छ ।

यस्तो आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन खर्च कट्टी गर्न पाइने जनाएको छ । सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोषको खाता राष्ट्रिय वाणिज्य बैंकमा खोलेको छ ।

यसअघि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन आदेश जारी गर्दै अर्थमन्त्री अध्यक्ष रहने गरी पाँच सदस्यीय समिति गठन गरेको थियो ।

प्रकाशन भएका दस्तावेजहरू

68d3f6631bc51_1758721635.pdf