एकपछि अर्को सकारात्मक निर्णयले सेयर बजारमा राहत, दशैंअघि कसरी झेल्छ विक्रीको दबाब ?
अर्थतन्त्र बुझेका पूर्व अथसचिव रामेश्व खनाल अर्थमन्त्री र कर्पोरेट तथा वाणिज्य कानूनका ज्ञाता सर्वोच्च अदालतका पुर्वन्यायधिस अनिलकुमार सिन्हा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएकाले निजी क्षेत्रको भावना र लगानीकर्ताको मनोभाव बुझेर कदम चाल्नेछन् भन्ने विश्वास गर्न सकिन्छ । यसले अर्थतन्त्रलाई लयमा ल्याउँदा सेयर बजारमा सकारात्मक प्रभाव पर्ने छ ।
काठमाडौं । सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत साउन ९ गते ३००२.०७ विन्दु छोएर घट्दै गरेकोमा जेन्जी आन्दोलनको असर स्वरुप गत बिहीबार ६ प्रतिशतले घटेर बजार बन्द भयो । गत बिहीबार २५११.९१ अंकमा रोकिएको बजार आइतबार भने १११.७० अंकले बढेर २६२३.६२ अंकमा रोकियो । विहीबार घटेको तुलनामा आइतबार ठीक त्यही गतिमा बढ्न खोजेको देखिन्छ ।
दुई दिनको उतारचढावपछि दशैंअघि बजार के होला भन्ने धेरैमा कौतुहलता छ । सोमबार घटस्थापनाको विदापछि मंगलबार खुल्ने बजारमा धेरैको ध्यान गएको छ । त्यसैपनि दशैंको एक साता लामो विदाअघि जम्मा ४ दिन (७, ८, ९ र १२ गते) मात्र सेयर कारोबार हुन्छ । असोज १६ गते बिजया दशमी परेको छ र असोज १३ गतेदेखि सार्वजनिक बिदा छ । दशैंको विदापछि एकैचोटी असोज १९ गते सेयर कारोबार खुल्छ ।
अर्कोतिर आज र भोली सेयर बेच्नेहरुले दशैंअघि आफ्ना खातामा पैसा प्राप्त गर्ने भएकाले बेच्नेहरुको दबाब बढ्न सक्छ । तर, समग्र माहौल सकारात्क बन्दै गएकाले बजार घट्नै पर्ने अवस्थामा भने छैन ।
बिहीबार बजारमा उच्च गिरावट देखिएपछि अर्थमन्त्री रामेश्वर खनालले अध्ययन गरि सुझाव दिन भन्दै ५ दिनको समय दिएर समिति बनाए । त्यति मात्रै होइन गत चैतदेखि कार्यान्वयनमा २ः४५–३ः०० बजेसम्मको औसत मूल्यका आधारमा अन्तिम कारोबार मूल्य तय भइरहेको व्यवस्थालाई आजदेखी लागू हुने गरि स्थगन भएको छ । आजदेखी पुरानै व्यवस्थाअनुसार अन्तिम कारोबार मूल्यकै आधारमा सूचक गणना हुने सूचना नेप्सेले निकालेको छ । यसबाट केही लगानीकर्ताहरुको माग पुरा भएको छ । कम्पनीमा चलखेल गरि भरदिन मूल्य घटाएर पनि अन्तिम समयमा बढाउन चाहनेहरुलाई मौका मिलेको छ । यसको सकारात्मक प्रभाव आइतबारको सूचकमा देखिइसकेको छ ।
यी दुई निर्णयका अतिरिक्त यसबीचमा सरकारले थप कदमहरु अघि बढाएको छ । प्रत्यक्ष सेयर बजार केन्द्रित निर्णय नभएपनि अर्थतन्त्रका अवयवहरु चलायमान बनाउन चालिएका र भविश्यमा चालिने कदमबाट बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । खासगरि जेनजी आन्दोलनबाट सूचीकृत सीमित कम्पनीमा क्षति पुगेको र ति अधिकांस क्षेत्रमा बीमा गरिएको र धेरै हिस्सा बीमाबाट ओगट्ने भएकाले तत्काल ठूलो क्षति नहुने देखिन्छ । निर्माण अवधिमा कम्पनीहरुले आम्दानी गर्दै गरेको हिस्सा घट्ने भएपनि अन्य क्षति कम हुने सम्भावना छ ।
त्यसैगरि सरकारले जेनजी आन्दोलनबाट क्षति भएका नीजि क्षेत्रका संरचनाहरु निर्माण गर्दा आवश्यक साग्रीको आयातमा ५० प्रतिशत भन्सार छुटको व्यवस्था गरिसकेको छ । त्यस्तै, बीमाबाट अग्रिमरुपमा क्षतिको ५० प्रतिशतसम्म अग्रिम दाबी भुक्तानी दिने व्यवस्था गरिएको छ । त्यसैगरि प्रभावित उद्योग तथा व्यवसायीले तिर्नुपर्ने ऋणको म्याद सार्ने व्यवस्था गरिएको छ भने कर्मचारी तथा मजदुरको जागिर नजाओस् भनेर कर्जा लिएर भुक्तानी गर्न सक्नेहरूलाई सहुलियतपूर्ण कर्जा र भुक्तानी गर्न नसक्नेहरूलाई राष्ट्रियस्तरमा खडा हुने पुनर्निर्माण कोषबाट भुक्तानी गर्ने प्रबन्ध गरिएको छ । यसले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने छ ।
त्यसैगरि अर्थमन्त्री खनालले थप कानून नबन्दै अमुक सिफारिसलाई आधार बनाएर सार्वजनिक निष्काशन (आईपीओ) रोक्न नमिल्ने बताएका छन् । यसबाट जलविद्युत क्षेत्रमा थप आईपी आउने ढोका खोलेको छ र अन्तरिम सरकारकै पालामा धेरै आइपीओ बजारमा आउने छ । नेपाल धितोपत्र बोर्डले २८ महिनादेखि जलविद्युत कम्पनीको आईपीओ रोकिरहेको छ । आइपीओ रोकिँदा प्रवद्र्धक र राज्यलाई गरी समग्रमा एक खर्ब रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी भएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले दावी गर्दै आएको छ । यसअघि खनाल संयोजकत्व (हाल अर्थमन्त्री) को उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनले जलविद्युत कम्पनीलाई बत्ती बलेपछि मात्रै आईपीओ अनुमति दिनुपर्ने सिफारिस गरेको थियो । त्यही सिफारिसलाई देखाएर जलविद्युतको आइपीओ निष्काशन रोकिएको थियो ।
जेनजी आन्दोलनबाट लगानीकर्ता त्रसित भएका छन् । यसले मुलुकमा लगानी र लगानीकर्ता असुरक्षित भएको सन्देश दिएको छ । आगामी दिनमा सरकारले पूँजी पयालन जोखिम न्यूनीकरण गर्न र सरकारले उद्योगीको मनोबल बढाउन विशेष प्याकेज ल्याउनै पर्ने दबाब छ । सरकारले यस्तो योजना अघि सारेको प्रभाव पनि सेयर बजारमा पर्ने नै छ । अर्थतन्त्र बुझेका पूर्व अथसचिव रामेश्व खनाल अर्थमन्त्री र कर्पोरेट तथा वाणिज्य कानूनका ज्ञाता सर्वोच्च अदालतका पुर्वन्यायधिस अनिलकुमार सिन्हा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएकाले निजी क्षेत्रको भावना र लगानीकर्ताको मनोभाव बुझेर कदम चाल्नेछन् भन्ने विश्वास गर्न सकिन्छ । यसले अर्थतन्त्रलाई लयमा ल्याउँदा सेयर बजारमा सकारात्मक प्रभाव पर्ने छ ।