राष्ट्रपति कार्यालय पुगेको ५ जना मन्त्रीहरूको शपथ आज, थप मन्त्रीहरुको खोजी जारी

प्रधानमन्त्री कार्कीले मन्त्रीपरिषद ११ सदस्यीय बनाउने बताइरहेकी छन् । त्यसनुरुप सिफारिस ५ जनाले जिम्मेवारी लिएमा थप दुई जना मन्त्रीको खोजी हुने बताइएको छ ।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले थप ५ जनाको नाम मन्त्रिमण्डलमा समावेश गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छिन् ।

सिफारिस भएका मन्त्रीहरूमा पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, डा. संगिता कौशल मिश्रा, महावीर पुन र डा. मदन परियार छन् । मन्त्रीमा सिफारिस भएका व्यक्तिहरुले आज पद तथा गोपनियताको सपथ लिने बताइएको छ । 

प्रधानमन्त्री कार्कीले राजनीतिक दल भन्दा बाहिरका व्यक्तिलाई मन्त्री बनाउने बताउँदै आएकी छन् । त्यसैअनुरुप विभिन्न क्षेत्रमा क्रियासिल विषयगत क्षेत्रका दलमा आबद्ध भएको नदेखिएका व्यक्तिलाई मन्त्रीमा सिफारिस गरिएको बताइएको छ । त्यस्तै प्रधानमन्त्री कार्कीले मन्त्रीपरिषद ११ सदस्यीय बनाउने बताइरहेकी छन् । त्यसनुरुप सिफारिस ५ जनाले जिम्मेवारी लिएमा थप दुई जना मन्त्रीको खोजी हुने बताइएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोनलबाट केपी शर्माओलीको सरकार ‘च्यूत’ भएपछि भदौ २७ गते शुक्रबार पूर्वप्रधान न्यायधिस सुशिला कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन ।

भदौ ३० गतेदेखी अर्थमन्त्रीका रुपमा पूर्वअर्थसचिव रामेश्वर खनाल, गृह मन्त्रालयको जिम्मेवारीमा काठमाडौं महानगरपालिका प्रमुद बालेन्द्र (बालेन) साहका सल्लाहकार ओमप्रकास अर्याल र उर्जा, जलस्रोत र सिँचाई मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयको जिम्मेवारी नेपाल विद्युत प्राधिकरणका पुर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सम्हालिरहेका छन् ।  

मन्त्री सिफारिस भएका सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । सिन्हालाई तीन मन्त्रालयको जिम्मेवारी दिइने बताइएको छ । सिफारिस अनुसार सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । कानुन मन्त्रालय गृहमन्त्री ओमप्रकाश अर्यालबाट फिर्ता लिएर सिन्हालाई दिइएको बताइन्छ ।

१७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त सिन्हा ६५ वर्षे उमेर हदका कारण १४ कात्तिक २०८० मा निवृत्त भएका थिए । नेपाल ल क्याम्पसबाट २०३९ मा स्नातक गरेका सिन्हा सर्वोच्चमा न्यायाधीश नियुक्त हुनुअघि वरिष्ठ अधिवक्ताका रुपमा क्रियासिल थिए । सिन्हालाई कर र कर्पोरेट क्षेत्रका विशेषज्ञ वकिलका रुपमा लिइन्थ्यो । सर्वोच्चमा ७ वर्ष न्यायाधीश रहँदा सिन्हाले संवैधानिक, फौजदारी र वाणिज्य सम्बन्धी मुद्दा निरुपणमा महत्वपूर्ण योगदान दिएको बताइन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी विवाद, प्रतिनिधिसभाको पहिलो विघटन, कर फस्र्यौट आयोग सम्बन्धी विवाद निरुपणमा सिन्हाको योगदान महत्वपूर्ण मानिन्छ । त्यसैगरि ललितानिवास जग्गा प्रकरणको मुद्दामा मन्त्रिपरिषद्को निर्णयमाथि पनि अनुसन्धान गर्न सकिने फैसला पनि सिन्हासहितको इजलासले गरेको थियो ।

त्यस्तै, मन्त्रीमा सिफारिस भएकी डा. मिश्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री सम्भावना देखिएपछि मिश्रले आइतबार सचिवबाट राजीनामा दिएकी छन् । कोरोना महामारीले देश आक्रान्त भएका बेला कोशी अस्पतालको नेतृत्व गरेर डा. मिश्रले आफूलाई अब्बल सावित गरेकी थिइन् । कोशी अस्पतालबाट परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकको जिम्मेवारी पाएकी मिश्रले नेपालमा पहिलो पटक ह्युमन मिल्क बैंक अर्थात् अमृत कोषको अवधारणा ल्याएकी थिइन् । त्यसपछि स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख तथा प्रवक्ता, स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदै डा. मिश्र स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवका रुपमा क्रियासिल थिइन ।

यस्तै मन्त्रीको सूचीमा रहेका खरले पत्रकार हुने । खरेलललाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइने बताइएको छ । इमेज टिभीका समाचार प्रमुख रहेका खरेल दुई दशक भन्दा बढी समयदेखि पत्रकारितामा क्रियासिल छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा विद्यावारिधी गरिरहेका खरेलले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् । दोलखाका खरेल लामो समयदेखि चर्चित टिभी कार्यक्रम ‘हट सिट’ नामक अन्तर्वार्ता शो चलाउँदै आएका छन् । राजनीतिक र सामाजिक विषय केन्द्रित टक शोबाट खरेलले समाजमा छुट्टै पहिचान बनाएका छन् ।

मन्त्रीमा सिफारिस भएका डा. परियारलाई कृषि विकास तथा पशुपंंछि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । तत्कालीन राज्‍य पुनर्संरचनाको संयोजक समेत भएर काम गरेका डा. परियार कृषि विज्ञ हुन् ।

त्यसैगरि प्रधानमन्त्री कार्कीले पुनलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस गरिएको बताइएको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले दुर्गम जिल्लामा ताररहित इन्टरेनट विस्तारमा पु¥याएको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय म्यागसेसे अवार्ड हात पारेका थिए । पछिल्लो समय वीरगञ्जस्थित बन्द भएको कृषि औजार कारखानाको जिम्मा लिएका पुनले त्यहाँ विभिन्न औजार र मेसिनको विकासमा काम गर्दै आएका छन् ।