बैंकहरुलाई सेयर किनबेच गर्न दिनुपर्ने माग लिएर लगानीकर्ताले भेटे गभर्नर, लाभांसको सीमा हटाउन आग्रह

विज्ञापन
ncell

बैंक तथा वित्तीय संस्थाहरूलाई दोस्रो बजारमा सहज रूपमा खरिद/बिक्री गर्न अनुमति दिने, स्वेच्छा र विवेकपूर्ण ढंगले लगानी गर्न सक्ने वातावरण सिर्जना गर्ने व्यवस्था गर्नुपर्छ ।

काठमाडौं । सेयर बजारका लगानीकर्ता तथा संघ सगठनहरुले सेयर बजारमा आएको अस्वभाविक गिरावट प्रति नेपाल राष्ट्र बैंकका गभर्नरको ध्यानकर्षण गराएका छन । दोस्रो बजारमा सूचीकृत हुने कम्पनीहरुमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता धेरै भएकाले राष्ट्र बैंकले लगानीकर्ताको मनोवल बढाउने कदम चाल्न आग्रह गरेका हुन ।

सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधिहरुले राष्ट्र बैंकका गभर्नरलाई भेटेर ध्यानकर्षण गराएका हुन ।


लगानीकर्ताले विभिन्न बुदाँमा गभर्नरको ध्यानकर्षण गराएका छन :

१. बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा सहज कारोबार गर्न दिने सम्बन्धमाः

बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर बजारमा सहभागी हुन र पूँजी बजारलाई थप गतिशील बनाउन नीतिगत व्यवस्था सहज बनाइनु आवश्यक छ । यसका लागि विद्यमान नीतिगत प्रतिबन्धहरू परिमार्जन गरी बैंक तथा वित्तीय संस्थाहरूलाई दोस्रो बजारमा सहज रूपमा खरिद/बिक्री गर्न अनुमति दिने, स्वेच्छा र विवेकपूर्ण ढंगले लगानी गर्न सक्ने वातावरण सिर्जना गर्ने व्यवस्था गर्नुपर्छ । यसले बजारमा दीर्घकालीन तरलता प्रवाह बढाउने मात्र होइन, सम्पूर्ण पूँजी बजारलाई स्थायित्व र विश्वास दिलाउने आधार पनि तयार हुनेछ ।


२. व्यक्तिगत शेयर धितो कर्जाको सन्दर्भमाः

बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत रूपमा एकल परिवारलाई ऋण प्रवाह गर्ने २५ करोडको सीमा पूर्ण रूपमा खारेज गर्न आवश्यक देखिन्छ । यसले लगानीकर्ताको पहुँचलाई सहज बनाउने मात्र होइन, विश्वस्त तथा लगानीकर्ता मैत्री वातावरण निर्माण गर्न पनि महत्वपूर्ण योगदान पुर्याउनेछ।


३. लघुवित्त संस्थाको लाभांश वितरण सम्बन्धमाः

लघुवित्त संस्थाले २५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने हालको व्यवस्था नेपालले अंगिकार गरेको खुला अर्थनीतिको सिद्धान्त विपरीत रहेको देखिन्छ । अतः यस नियमलाई परिमार्जन गरी संस्थाहरूको वास्तविक नाफा तथा वित्तीय क्षमताका आधारमा लाभांश वितरण गर्ने व्यवस्था गरिनुपर्छ । साथै लघुवित्त संस्थाहरूलाई कार्यसम्पादनमा पूर्ण स्वतन्त्रता प्रदान गरी प्रतिस्पर्धात्मक र दिगोपनामा उन्मुख वातावरण सुनिश्चित गर्नु आवश्यक छ।


४. बैंक तथा वित्तीय संस्थाको शेयर बजारमा लगानीको सिमा सम्बन्धमाः

हालको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफो प्राथमिक पुँजीकोषको पुँजीबजारमा लगानी गर्ने सीमालाई परिमार्जन गरी बैंक तथा वित्तीय संस्था ऐन २०७३ मा व्यवस्था भए वमोजिमको सिमा कायम राख्नुपर्ने आवश्यकता देखिन्छ ।


५. बैक तथा वित्तीय संस्थाहरूले सर्वसाधारलाई प्रवाह गर्ने सेयर कर्जा सम्बन्धमा

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरिरहेको शेयर कर्जाको सीमा वर्तमान आर्थिक अवस्था र पूँजी बजारको विस्तारसँग तुलना गर्दा निकै पुरानो भइसकेको छ। यसलाई समयसापेक्ष रूपमा वृद्धि गर्नु जरुरी छ, जसले बजारमा तरलता सहज पार्ने, लगानीकर्ताको पहुँच बढाउने र समग्र अर्थतन्त्रलाई गतिशील बनाउन मद्दत गर्नेछ ।


६. गैर आवासीय नेपाली(एनआरएन)लाई पुँजीबजारमा भित्र्याऊने सम्बन्धमाः

गैरआवासीय नेपाली (एनआरएन)ले नेपालको पुँजी बजारमा लगानी गर्दा हालका कानुनी र प्रक्रियागत अड्चनका कारण आफ्नाे लगानीसहित प्राप्त नाफा सहज रूपमा पुनः स्वदेश बाहिर लैजान नसक्ने अवस्था रहेको छ । यस जटिलतालाई परिमार्जन गरी, गैरआवासीय नेपालीलाई आकर्षित गर्ने खालको सहज र पारदर्शी लगानी वातावरण सिर्जना गर्न आवश्यक छ ।