जेनजी आन्दोलनमा लुटपाटमा संलग्न ३ जना पक्राउ, डेरामा भेटियो नगदसहित विभिन्न सामान

विज्ञापन
ncell

जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेकालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ। थप अनुसन्धानका लागि उनीहरूलाई प्रहरी वृत्त मालिगाउँमा राखिएको छ ।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा लुटपाट र चोरीमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं महानगरपालिका-३० रातोपुलस्थित एक घरमा ढुङ्गामुढा, तोडफोड, आगजनी गरी घरकोठाबाट नगद, सुनचाँदी लगायतका धनमाल चोरी भएको घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

प्रहरीले भदौ ३१ गते साँझ साढे ४ बजे रातोपुलमै संकास्पद गतिविधि गरिरहेका ३ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। उनीहरूको साथबाट र डेराबाट सुन, चाँदी लगायत विभिन्न सामान बरामद गरिएको छ।

पक्राउ पर्नेमा खोटाङको दिप्रुङ चुईचुम्पा गाउँपालिका-३ स्थायी घर भई हाल रातोपुल बस्ने २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं महानगरपालिका-७ बस्ने १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुर हेटौँडा उपमहानगरपालिका-५ स्थायी घर भई हाल रातोपुल बस्ने १८ वर्षीय अगम प्रजा हुन् ।

प्रहरीले सुनचाँदीका गहना, विभिन्न सिक्का, पर्स, झोला, कपडा, धार्मिक मूर्ति, माला, धातुका विभिन्न सामान, गिफ्ट, कार्ड, ब्रेसलेट, औंठी, लकेट, सिक्री र नगद १३ हजार ८ सय ५० रुपैयाँ वरामद गरेको छ ।

परिसरले पक्राउ परेकालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ। थप अनुसन्धानका लागि उनीहरूलाई प्रहरी वृत्त मालिगाउँमा राखिएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी छ ।