माथिल्लो भोटेकोशीको सेयर विवाद चर्किदा पालिका भवनमा तोडफोड
काठमाडौैँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाले दिनुपर्ने सेयरको विषयलाई लिएर तनाव चर्किएको छ । आन्दोलनरत स्थानीय आक्रोशित बन्दै गएपछि पालिका भवनमा तोडफोड पनि भएको छ ।
स्थानीयको दाबीसँगै लामो समयदेखि बन्द रहेको माथिल्लो भोटेकोशी पावर कम्पनी १० दिनपछि पुनः सञ्चालनमा आएको थियो । विद्युत उत्पादन नियमित बनाउन कम्पनीले गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा र अन्य जनप्रतिनिधिसँग छलफल गरेको थियो । तर, आन्दोलनरत समूहलाई छलफलमा सामेल नगरिएको भन्दै स्थानीय आपत्ति जनाएका थिए ।
यही विरोधका क्रममा ठूलो संख्यामा स्थानीय पालिका कार्यालय पुगेका थिए । स्थिति नियन्त्रण बाहिर जाँदा ढुंगामुढा चलेको र भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ । ‘पालिका अध्यक्ष राजीनामा दे’ जस्ता नारासहित विरोध प्रदर्शनमा उत्रिएका स्थानीयले अध्यक्षमाथि गुण्डालाई संरक्षण गरेको आरोपसमेत लगाएका छन् ।
करिब दुई दशकदेखि ४६ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना सञ्चालनमा रहे पनि स्थानीयलाई तोकिएको १० प्रतिशत सेयर नदिएको भन्दै पटक–पटक विवाद हुँदै आएको छ ।