गण्डकी र कर्णालीबाहेकका प्रदेशमा भारी वर्षाको सम्भावना, रौतहटमा ६ घण्टादेखी पानी पर्याे

विभागका अनुसार पछिल्लो ६ घण्टामा रौतहट जिल्लाको चन्द्रपुर मापन केन्द्रमा लगातार भारी वर्षा भएको छ भने अझै केही घण्टा वर्षा जारी रहने सम्भावना छ ।

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

जसको प्रभावले देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर साधरणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

विभागका अनुसार पछिल्लो ६ घण्टामा रौतहट जिल्लाको चन्द्रपुर मापन केन्द्रमा लगातार भारी वर्षा भएको छ भने अझै केही घण्टा वर्षा जारी रहने सम्भावना छ ।

विभागले बिहीबार एक सूचना जारी गर्दै वर्षाका कारण सो क्षेत्र भएर बहने स-साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने जोखिम देखिएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।