नारायणी डेभलपमेन्ट बैंकको सतप्रतिशत हकप्रद सेयर खुल्यो, असोज २२ गतेसम्मको समय
भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सतप्रतिशत हकप्रद सेयरमा आवेदन दिन पाउँछन् । बैंकको हकप्रद सेयर असोज २२ गतेसम्म भर्न पाईन्छ ।
नारायणी डेभलपमेन्ट बैंकले आज (असोज २ गते) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । अर्थात बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर भर्ने अवसर लगानीकर्तालाई दिएको छ ।
बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर विक्रीमा ल्याएको हो । हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात बैंकको चुक्ता पूँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ । हकप्रदबाट संकलित रकम बैंकले धितोपत्र, सरकारी ऋणपत्र तथा सामूहिक लगानी कोषमा लगानी गर्न र भौतिक पूर्वाधार तथा शाखा विस्तारमा प्रयोग गर्नेछ ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो । भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सतप्रतिशत हकप्रद सेयरमा आवेदन दिन पाउँछन् । बैंकको हकप्रद सेयर असोज २२ गतेसम्म भर्न पाईन्छ ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग सी प्लस दिएको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा धेरै उच्च जोखिम रहेको संकेत गर्दछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल छ ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको भुमही, नवलपरासी शाखा कार्यालय तथा नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय कार्यालय, यज्ञपुरी शाखा, टाँडी शाखा, पर्सा शाखा र नारायणगढ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्गको ‘मेरो सेयर’ अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन् ।