सुन पसललाई प्रहरीले भन्यो- लुटिएकाे गरगहना बेच्न ल्याउन सक्छ बिल बिना नकिन्नू
विलविजक नभएको सामानहरु खरिद बिक्र्री नगर्न सुनचाँदी व्यवसायीहरुलाई आग्रह गरेको हो ।
काठमाडौं । प्रहरीले विलबिजक नभएको सामानहरु किनबेच नगर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको एक विज्ञप्ति जारी गर्दै विलविजक नभएको सामानहरु खरिद बिक्र्री नगर्न सुनचाँदी व्यवसायीहरुलाई आग्रह गरेको हो ।
२३ र २४ गते जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले काठमाडौंका विभिन्न स्थानहरूमा रहेका सरकारी कार्यालयहरू, बैंक वित्तीय संस्थाहरू, व्यापारिक प्रतिष्ठानहरू लगायत व्यक्तिगत घर र भवनमा समेत आगजनी तोडफोड गर्ने समूहले बहुमूल्य गरगहना, सरसामान (सुन, चाँदी, हिराजवारत) चोरी लुटपाट गरेकाले उक्त आपराधिक समूहले लुटिएका गरगहना विक्री गर्न राजधानीका सुनचाँदी पसलमा ल्याउन सक्ने हुँदा बिल भरपाई बिनाका सुनचाँदीका गरगहना खरीद नगर्न अनुरोध गरेको एसपी अपिलराज बोहराले जानकारी दिए ।
त्यस्तो कुनै सूचना पाएमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध समेत गरेका छन् । सूचनाको अवज्ञा गरी यस्ता आपराधिक कार्यमा संलग्न रहेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने उनले जानकारी दिए ।