वाणिज्य बैंकहरूकाे औसत ब्याजदर घट्याे
वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन् ।
भदौ महिनामा ५.५७७ प्रतिशत विन्दु रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर असोजमा ०.११ प्रतिशत विन्दु घटेर ५.४६३५ प्रतिशत विन्दुमा झरेको छ ।
भदौ महिनाको तुलनामा असोज महिनाका लागि प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.५ प्रतिशत विन्दु घटाएका छन् । त्यस्तै, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकले ०.२५ प्रतिशत विन्दु घटाएक छन् भने कुमारी बैंकले ०.२ प्रतिशतविन्दु घटाएको छ ।
दुई बैंकले भने असोजमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढाएका छन् । भदौको तुलनामा लक्ष्मी सनराइज बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्याजदर बढाएका हुन् । यी दुई बैंकले क्रमशः ०.२५ प्रतिशत विन्दु र ०.०५ प्रतिशत विन्दुले ब्याजदर बढाएका हुन् ।
असोज महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंक भने कुमारी बैंक रहेको छ । सो बैंकले अधिकतममा ५.०१ प्रतिशतका दरले ब्याज दिनेछ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भने ६ प्रतिशत रहेको छ । एनआईसी एशिया, माछापुच्छ्रे, ग्लोबल आइएमई, एनएमबी र हिमालयन बैंकले असोज महिनामा सो दरमा ब्याज दिनेछन् ।
बैंकको संस्थापक मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर समीक्षा अवधिमा ०.०८८५ प्रतिशत विन्दु घटेको छ । ७ वाणिज्य बैंकले ब्याजदर घटाउँदा औसत ब्याजदर घट्न पुगेको हो । १३ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।