जेनजी प्रदर्शनले दर्जनौं अटो शोरुममा क्षति, बजार चलयमान हुने समयमा नै व्यवसायी तनावमा
काठमाडौं । भदौ २३ गतेबाट सुरु भएर भदौ २४ मा विध्वंसमा परिर्णत भएको जेनजी प्रदर्शनको निसानामा अटोमोबाइल क्षेत्र पनि पर्यो । सयौंको संख्यामा निजी तथा सरकारी सवारीसाधन त जेनजी प्रदर्शनकारीको निसानामा परे नै, अटो शोरुमहरु पनि यसको सिकार बने । अटो हबको रुपमा चिनिने थापाथलीमा मात्रै करिब आधा दर्जनभन्दा बढी गाडीका शोरुम ध्वस्त बनाइएका छन् ।
प्रदर्शनकारीले थापाथलीमा रहेका टाटा मोटर्स, सीजी मोटर्स, महिन्द्रा, सुजुकी, हुन्डाई लगायतको शोरुममा आगलागी तथा तोडफोड गरे । आगजनीबाट अधिकांश शोरुममा पूर्ण क्षति भएको भने त्यहाँ राखिएका गाडी पनि जलाएर नष्ट गरिएको छ । चारपांग्रे सवारीसाधनका दुई दर्जन ब्रान्डको शोरुम थापाथलीमा उपलब्ध छन् ।
नयाँ ब्रान्डदेखि पुराना ब्रान्डसम्म अधिकांश शोरुम थापाथलीमा भएकाले यो क्षेत्रलाई अटो हबको रुपमा लिने गरिएको छ । एउटा शोरुममा गाडी हेर्न आएको मानिस नजिकै अर्काे सोरुम छ भने त्यहाँ पनि जाने भएकाले अधिकांश कम्पनीले एकै ठाउँ शोरुम विस्तार गरिरहेका छन्।
थापाथलीमा आयोन, एक्सपेङ, स्मार्ट, नेटा, दायुन, रिडारा, फोर्ड, काई, निसान, हुन्डाई, टाटा, लिपमोटर, सिट्रोन, स्कोडा, एमजी, सुजुकी, महिन्द्रा, किया, जीकर, जीएमडब्लु, रेनल्टलगायत गाडीका शोरुम छन्। थापाथलीमा सिजी मोटर्सले मात्रै बिक्री गर्ने पाँच वटा शोरुम छन्। उक्त सोरुममा ३० लाखदेखि सवा १ करोड रुपैयाँसम्मका गाडी राखिएको थियो ।
आन्दोलनकारीको निशानामा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी पर्दा धेरै अटो ब्रान्डमा क्षति पुग्यो । चौधरीको रवि भवनमा रहेको निजी निवासमा तोडफोड, लुटपाट र आगजनी गरिएको थियो भने घरमा रहेको निजी सवारी साधनमध्ये दुई वटा सवारी त्यहाँबाट निकालेर लामपाटी चोकमा ल्याएर जलाइएको थियो ।
उनको घरको पार्किङमा भएको करिब ८ वटा गाडीमध्ये ६ वटा गाडीमा आगजनी गरे । जसमा दुई वटा गाडीलाई पूर्णरुपमा जलेभने अन्य आंशिकरुपमा जलेका छन् । प्रदर्शनकारीले सिजी, एलजीलगायत ब्रान्डका सामानहरू उत्पादन हुँदै आएको उनको सतुंगलमा रहेको सिजी डिजिटल पार्कमा आगो लगाएर ध्वस्त बनाइदिए । उनीहरूले सिजीको थापाथली र रवि भवनमा रहेको गाडी शोरुममा समेत आगजनी गरे ।
पोखराको नयाँबजारमा आन्दोलनकारीले जलाएको अटो शोरूमको भवनभित्र त झन् जलेको अवस्थामा एक युवतीको शव नै भेटियो । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले सञ्चालन गरेको उक्त अटो शोरूममा आन्दोलनकारीले मंगलबार आगो लगाएका थिए ।
खासगरी, दसैं तिहारको समय अटो मोबाइल बजार चलयमान हुने समय हो । केही समय अगाडि मात्रै नाडा अटो एक्स्पो र नाइमा नेपाल मोबिलिटी एक्स्पो सम्पन्न भएको थियो । त्यसले अटो बजारमा एक किसिमको माहोल सिर्जना गरेको थियो । तर, जेनजी प्रदर्शनका कारण अन्य क्षेत्र जस्तै केही समय यो क्षेत्र पनि चलयमान नहुने देखिन्छ ।