एकपछि अर्को गर्दै दलका नेताहरु बोल्न थाले, ‘लोकतान्त्रिक व्यबस्था र संवैधानिकता हराउनु हुँदैन’

बुधबार पनि धेरै ठाउँमा विध्वसात्मक गतिविधि भईरहेको छ । यस्तो अवस्था हिजो सत्ता र प्रतिपक्ष दलमा रहेका नेताहरु एकपछि अर्को गर्दै आफ्नो आवाजहरु उठाउन थालेका छन् ।

काठमाडौं । सोमबारबाट सुरु भएको जेनजेड समूहको आन्दोलन भड्किएर गुप्त अवस्थामा रहेका प्रमुख राजनीतिक दलका नेताहरु एकपछि अर्को गर्दै आफ्ना सुझावहरु राख्न थालेका छन् । सोमबार प्रधानमन्त्री केपी शर्माओलीले राजीनामा दिएपछि सरकारी र निजी सम्पत्तिमाकिो आक्रमण अझ तिखो भएको थियो । मंगलबार विहानबाट प्रमुख सत्ताधारी दलहरु नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरुको ज्यान र उनीहरुको सम्पत्तिमा केन्द्रित आन्दोलनकारीहरुका विभिन्न समूहहरु प्रधानमन्त्री ओलीले राजीनामा दिएसँगै संसद भवन, सिंहदरवार, राष्ट्रपति कार्यालय, सर्वाेच्च अदालत, विशेष अदालत, महान्यायधिवक्ताको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका सरकारी भौतिक सम्पत्ति तोडफोड र आगजनीमा उत्रिएका थिए । सरकारका प्रमुख अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थाविकाका कार्यालयहरु ध्वस्त बनाएका थिए । अहिलेसम्म सर्वोच्च अदालतसहित १७ वटा अदालतहरुमा आगजनी भएको बताइएको छ । कतिपय क्षेत्रमा लागेको आगो बुधबार मध्यान्हसम्म पनि ननिभेको स्थिति छ । 

यसबीचमा आन्दोलनकारीहरुले पूर्वप्रधानमन्त्रीद्धय शेरवहादुर देउवा दम्पत्ती र झलनाथ खनाल दम्पत्तिलाई हातपात तथा कुटपिट गरेका छन् । खनालपत्नि आगोले जल्न पुगेकी थिइन । प्रधानमन्त्री ओलीसहित देउवा, खनाल, अर्का पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाललगायत धेरै नेता तथा मुख्य कार्यकर्ताहरुको घरमा आगजनी तथा तोडफोड भएको छ । उता, मंगलबार सहकारी ठगि आरोप पुर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, कुख्यात अपराधी सँजय टक्लासहितका एक हजार बढी अपराधीहरु नख्खुस्थित जेलबाट भागेका छन् । बुधबार केन्द्रिय जेलबाट भुटानी शरणार्थी प्रकरणमा थुनिएका पूर्वउपप्रधान र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीसहितका जेल जीवन विताइरहेका अपराधी तथा आरोपीहरु भागेका छन् । डिल्ली बजार जेलमा आगलागी गरेर भाग्ने प्रयासमा रहेका अपराधीहरुलाई भने नेपाली सेनाले नियन्त्रण लिएको छ । काभ्रेपलाञ्चोक जिल्लालगायतका विभिन्न जिल्लाहरुका जेलहरुबाट अपराधीहरु भगाउने प्रक्रिया निरन्तर चलिरहेको छ ।

बुधबार पनि धेरै ठाउँमा विध्वसात्मक गतिविधि भईरहेको छ । यस्तो अवस्था हिजो सत्ता र प्रतिपक्ष दलमा रहेका नेताहरु एकपछि अर्को गर्दै आफ्नो आवाजहरु उठाउन थालेका छन् । बुधबार विहानै नेकपा एमालेका महासचिव शंकर पोखरेलले फेसबुकमा कवि नेत्रलाल अभागीको कविता सेयर गर्दै लेखेका छन्, ‘धैर्य गरौँ । संयमित बनौँ । हामी फेरि उठ्नेछौँ ।’


यस्तो छ, पोखरेलको स्टाटस


पोखेरेलको फेसबुक स्टाटस आएसँगै एमाले नेता तथा पूर्व उद्योग, वासणज्य तथा आपूर्ति मन्त्री महेश बस्नेतले लेखेका छन्, ‘आँधीपछि आकाश अझ नीलो हुन्छ । आज हामी पीडामा छौँ, तर भोलि हामी सतिसालझैँ अडिग भएर उठ्नेछौं । हामी सुरक्षित छौँ र मुलुकको सुरक्षाको निमित्त सधैं खट्ने छौं ।’


यस्तो छ, महेश बस्नेतको स्टाटस


नेपाली कांग्रेसले कानूनी शासनको विकल्प छैन भन्दै संविधानप्रतिवद्ध दलहरुबीच तत्काल संवाद थाल्न आग्रह गरेको छ । कांग्रेस प्रवक्ता तथा पूर्व अर्थमन्त्री र प्रतिनिधिसभा सदस्य डा. प्रकाशसरण महतका अनुसार जेन जी आन्दोलनको क्रममा हिजो देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको निष्कर्ष निकालेका छन् ।

प्रवक्ता महतले एक विज्ञप्ति जारी गरेर भनेका छन्, ‘देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध नवयुवाहरूले अवश्य पनि यस्तो चाहेका छैनन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ । धेरैको घर निजी सम्पत्ति, उधोगव्यावसाय, सञ्चार गृह लगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ । यो एक दिनको क्षति १० वर्षे माओवादीद्वन्दको बेला भन्दा धेरै बढी हो । यसले लगानीको वातावरणलाई पनि बिगारेको छ र क्षतिपूर्ति गर्न वर्षौँ र ठुलो लगानी लाग्ने निश्चित छ ।’ 

विज्ञप्तिमा अझ अगाडी भनिएको छ, ‘नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दो शक्ति हो भन्ने कुनै दुविधा छैन । पार्टीले अन्य लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध दलहरूसँग तत्काल संवाद गर्न आवश्यक छ । त्यसैले शान्ति, सुरक्षा, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनस्र्थापना लागि राष्ट्रपतिको अगुवाइमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्न आवश्यक छ ।’

उता, नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेको प्रतिनिधिसभा सदस्य तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले भनेका छन्, ‘अहिले नै समिक्षा गरिहाल्ने अवस्था नहोला, परिस्थिति असामान्य भएको बेला सामान्य तरिकाद्वारा आफ्नो भूमिका पुरा गर्न सम्भव हुदैन । तसर्थ साथिहरु बिल्कुल नयाँढँगले सोचौँ ।’


यस्तो छ, प्रभाकरको स्टाटस


कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुन नरसिंह केसीले एक्समा स्टाटस लेख्दै जेनजीहरुलाई विदेशमा रहेको अवैध सम्पत्तिको राष्ट्रियकरण गर्नेदेखि जनमत संग्रहसम्मका ७ सुझाव दिएका छन् ।


यस्तो छ, केसीको स्टाटस


त्यसैगरि एमाले सचिव, पूर्वसंस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लोकतान्त्रिक र संवैधानिक मान्यता अनुरूप निकास निकाल्न र जेनजीले अघि सारेका मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गर्न अपिल गर्नेसहितका विभिन्न १० बुँदा अघि सारेका छन् । भट्टराईले पार्टी पुनर्गठन र जनताको कुरा सुन्नमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।


यस्तो छ, भट्टराईको स्टाटस


त्यसैगरि एमालेकै नेता तथा प्रतिनिधिसभा सदस्य रहेका पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले भनेका छन्, ‘प्रधानमन्त्रीले राजिनामा दिए पछि पनि सिहदरबार, संसद, अदालत, राष्ट्रपति भवन, अख्तियार, प्रहरी कार्यालय, कारागार, अस्पताल, विद्यालय, बैक, व्यापारिक भवन र व्यक्तिका निजि सम्पत्ति छानिछानि जलाईयो, जुन कार्यको राज्यका जिम्मेवार निकायहरू मुकदर्शक बने । यो कुरा धेरै नै डरलाग्दो र धेरै पछि सम्म झस्काउने बिषय हो र रहिरहनेछ ।’

यस्तो छ, गिरीको स्टाटस


यसैबीच केही समयअघि मात्र नेपाली कांग्रेसका महमन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले संयम, संवाद र एकतामार्फत शान्ति समाधान पहिल्याउन आह्वान गरेका छन् । महामन्त्रीद्वय थापा र शर्माले संयुक्त विज्ञप्ति जारी गरेर भदौ २३ र २४ गते दुई दिनमा भएका घटनाक्रमपछि देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन हामी सबै पक्षले संयम र एकता साथ प्रस्तुत हुन जरुरी रहेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘नेपाल देशको समुन्नति र सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीको बाटोलाई नवीन ढंगले सुनिश्चित गर्ने गुरुत्तर दायित्वप्रति हामी सबै गम्भीर बन्न आवश्यक छ । मुलुकको सार्थक हित चाहने, शान्ति, सुशासन र समुन्नतिको मार्गमा हिड्न चाहने सबैमा नेपाली कांग्रेस हार्दिक आह्वान गर्दछ ।’


महामन्त्रीद्धयले ९ बुँदे सुझाव अघि सारेका छन्,

१. यो विषम परिस्थितिमा वार्ता र संवादमार्फत निकास दिनका लागि सम्माननीय राष्ट्रपतिज्यूले लिनुभएको पहलकदमीको स्वागत गर्दछौं । सबै पक्षसँग आवश्यक परामर्श गरी संवादबाट नै समाधान खोज्न हामी आग्रह गर्दछौं । नेपाली सेना लगायत सबै सुरक्षा निकायहरूले शान्ति सुरक्षा कायम गर्न आ–आफ्नो स्थानबाट गरिरहेको प्रयास र संवाद प्रक्रियालाई आम नागरिक, नागरिक समाज, संचार जगत, अन्तराष्ट्रिय समुदाय सबै तहबाट पनि साथ–सहयोगका लागि अपील गर्दछौं ।



२. हामी यो पहललाई न्भल–श् पुस्ताको भावना बमोजिम नै निष्कर्षमा पु¥याउन आग्रह गर्दछौं । त्यसो गर्दैगर्दा ‘आवश्यकताको सिद्धान्त’ बमोजिम हुने निर्णयलाई पनि संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडिको यात्रा तय गर्न सकिन्छ र गर्नुपर्छ भन्ने कुराको स्मरण गराउन चाहान्छौं ।

विधि विहिनताले थप अराजकता निम्त्याउँछ त्यसैले वार्ताका क्रममा राष्ट्रपतिज्यू र जेनजी पक्षलाई हामी आग्रह गर्छौं– अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शुन्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाइयोस्, संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस् । त्यसमा हाम्रो समर्थन रहनेछ ।

३. सोमवारको प्रदर्शनका दिन अत्यधिक बल प्रयोगबाट भएको गम्भीर अपराधको उच्चस्तरीय आयोग मार्फत गहिरो छानबिन गरेर दोषीहरुलाई कानूनी कार्वाहीको दायरामा ल्याउनु पर्छ भन्ने कुराको पनि पुनः ध्यानाकर्षण गराउँदछौं ।

४. सामाजिक सञ्जाल खोल्न र पदत्याग गर्न हामीले गरेका आग्रह र दबाब स्वीकार्न प्रधानमन्त्रीले ढिलाइ गर्दा स्थिति थप चर्किएको र अनियन्त्रित भएको तथ्य स्वीकार्न जरुरी छ । हाम्रो पटक पटकको आग्रहका बाबजुद परिस्थितिलाई नजरअन्दाज गर्नु, राजनैतिक नेतृत्वले स्थितिको सही आंकलन आफू गर्न सक्नुपर्छ या अरुले दिएको सहि सुझावलाई समयमै ग्रहण गर्न सक्नुपर्छ, यो यथार्थ आत्मसात गर्न प्रधानमन्त्रीले ढिलाइ गर्दा जो मानवीय क्षति भयो त्यसबाट सिंगो नेपाल र संसारभरका हामी सबै नेपाली स्तब्ध र अत्यन्तै दुखित छौं ।

५. सोमबार भएको मानवीय क्षतिले दिएको चोटमाथि मंगलबारका घटनाहरुले थप पीडा थप्न पुग्यो । शान्तिपूर्ण प्रदर्शन मार्फत दबाब सिर्जना गराएर आफ्ना माग पूरा गराउने न्भल–श् पुस्ताको उद्घोष विल्कुलै जायज थियो । तर सिंहदरबार, शितल निवास, संसद भवन, सर्वोच्च अदालत लगायतमा आगजनी गरेर देशको ऐतिहासिक धरोहर र खर्बौंको संरचना अनि लोकतान्त्रिक संस्था ध्वस्त गर्ने र सार्वजनिक सम्पत्तिमा नष्ट गर्ने घोषणा न्भल–श् को थिएन, र त्यो न्भल–श् को माग पनि होइन भन्ने हाम्रो विश्वास हो ।

कयौं सरकारी कार्यालय, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठान आदिमा गरिएको आगजनि अत्यन्तै दुःखद र निन्दनीय छ । न्भल–श् आन्दोलनकारीको भावना र घोषणाभन्दा बाहिर आन्दोलनको हुलमुलमा नियतवश पसेकाहरूले योजनाबद्ध रुपमा यो सब विध्वंश गरेका हुन् भन्ने हाम्रो बुझाइ छ । जेनजी युवाहरुको स्वस्फुर्त प्रदर्शनमा विभिन्न स्वार्थ समुहहरुले गरेको घुसपैठ, हिंसा, हत्या र योजनाबद्ध आगजनीको कठोर निन्दा गर्छौं । अबको सरकारले देशब्यापी रुपमा भएको यो सम्पूर्ण ध्वंसको छानबिन गर्न र पुनर्निर्माणका लागि यथासक्य चाँडो योजना निर्माण गर्नुपर्दछ ।

६. नागरिकको बोल्ने अधिकारको रक्षाका लागि लडेका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपर भएको आक्रमण एवं अन्य जो जसमाथि अमानवीय ढङ्गले भौतिक आक्रमण भएको छ, ती प्रत्येक घटना दुःखद र निन्दनीय छन् । यस्ता घटनाको हामी प्रष्ट शब्दमा भ्रत्सर्ना गर्दछौं ।

७. संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरुले जन अपेक्षाको गतिमा काम गर्न नसकेको, बेथिति र भ्रष्टाचार मौलाएको बिषयलाई गम्भीर आत्मसमीक्षा गरिरहेका छौं ।

त्यसक्रममा सत्तालाई जवाफदेही बनाउन गरेका हाम्रा प्रयास पनि अपूर्ण रहेको, पर्याप्त हस्तक्षेप गर्न नसकेको र नयाँ पुस्ताको लय र चाहना समयमै बुझ्न नसकेकोमा हामी आत्मालोचित छौं । तर, अब फेरिएको यस परिस्थितिमा युवाहरुको आकांक्षा र अपेक्षा अनुसार जिम्मेवार राजनीति गर्ने दलका रुपमा नेपाली कांग्रेस पार्टीलाई जरैदेखि सम्पूर्ण रुपमा पुनर्निर्माण गर्ने प्रतिबद्धता गर्छौं ।

हामी विश्वस्त छौं– आवेग, उत्तेजना र प्रतिशोध यस्तो उथलपुथलका बेला आउने र जाने क्षणिक कुरा भएकाले अबको नेपाली कांग्रेस आम जनताको अपेक्षा, न्भल–श् युवाहरुको भावना र अन्य भिन्न पुस्ताको अभिमत समेतलाई गाँसेर अझ सशक्त र जनउत्तरदायी दल बनेर अघि आउनेछ ।

८. आम नागरिकको प्रतिनिधत्व, न्याय र समावेशिताका हकमा हामी जति अघि बढेका थियौं, त्यसबाट पछि फर्किनु भनेको अरु यस्तै आन्दोलन र विद्रोहहरुको श्रृंखलालाई निम्तो दिनु हो भन्ने स्मरण गर्दै, यस अघिका आन्दोलनका बेला अहिले जस्तै गरी सार्वभौम नागरिकहरुले ज्यू–ज्यान दिएर हात परेका उपलब्धि नउल्टियुन भन्नेमा र देशलाई २०७२ को संविधानभन्दा पछि फर्कन नदिन अब हाम्रो सम्पूर्ण प्रयास केन्द्रित गर्नेछौं । परिवर्तनले सदैव अग्रगमनलाई बोक्नुपर्छ भन्ने मान्यतामा हामी दृढ ढंगले प्रष्ट छौं ।

९. हरेक देशको प्रगति यात्रा र राजनीतिमा अनुकुल र प्रतिकुल स्थिति आउँछ नै । नेपालले पनि पटक पटक यस्तो अवस्था सामना गर्दै आएको छ । दुबै अवस्थामा संयम एवं एकतासाथ कार्य गर्नु र नागरिकपंक्तिसँग जोडिइरहनु प्रत्येक पार्टी सदस्यको कर्तव्य हुन्छ । पछिल्ला दिनमा विकसित घटनाक्रमबाट देश र विदेशमा रहनुभएका साथीहरू चिन्तित हुनुहुन्छ, अलमलिनु भएको छ ।

नेपाली कांग्रेस धेरै पटक अनेकन आक्रमण खेप्दै, उठ्दै र जुट्दै अगाडि वढेको हो । त्यसैले अहिलेको विषम परिस्थितिमा सबै साथीहरूलाई कुनै पनि रुपमा विचलित नभई संयम रहन, विवेकपूर्ण ढङ्गले कार्य गर्न र एकताबद्ध रहन सबै सदस्य र शुभचिन्तकमा अपील गर्दछौं । हामी पुनः विश्वास दिलाउन चाहन्छौं– गम्भीर आत्मसमीक्षा एवं आत्मशोधन गर्दै नवीन र चुनौतीपूर्ण परिस्थितिकै बीचबाट हामी फेरी नयाँ ढङ्गबाट अगाडि बढ्नेछौं र समुन्नतीको यात्रालाई सम्हाल्ने छौं ।


यसैगरि, केही मिनेट अघि मात्र नेकपा एमालेका महासचिव पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

प्रिय कमरेडहरु,

मुलुकमा उत्पन्न असामान्य परिस्थितिबारे यहाँहरु अवगत नै हुनुहुन्छ । भ्रष्टाचारको विरोध लगायत विभिन्न माग राखेर सञ्चालित Gen- Z पुस्ताको प्रदर्शनका क्रममा प्रहरीको गोली प्रहारबाट भएको १९ जना युवाहरुको दुःखद निधन र ४ सय भन्दा बढी घाइते भएको घटनाले सिङ्गो मुलुक मर्माहत बनेको छ । मारिनु हुने सबैप्रति हामी पुनः श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । सन्तान वियोगका पीडामा रहनुभएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीमाथि कानुनबमोजिम कार्बाही हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।

त्यस पीडाको घाउ ओभाउन नपाउँदै हिँजो देशैभरि भएका आगजनी, तोडफोड, हिँसा र लुटपाटका घटनाले मुलुक पुनः स्तब्ध भएको छ । सङ्घीय संसद भवन, राष्ट्रपति भवन, ऐतिहासिक सिँहदरबार, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी कार्यालय लगायत सयौँ संरचनाहरु ध्वस्त भएका छन् । बहुमूल्य र दुर्लभ अभिलेख, दस्ताबेज र लिखतहरु जलेर नष्ट भएका छन् । होटल, डिपार्टमेन्टल स्टोर, केबुल कार, गाडीका शोरुम, ब्याङ्क लगायत सार्वजनिक र निजी सम्पत्तिमा खर्बौँको नोक्सानी भएको छ । जेलबाट गंभीर कसुरमा दोषी साबित भएका सहित हजारौँ कैदीबन्दीहरु बाहिरिएका छन् । राजनीतिक दलका नेता कार्यकर्ता तथा कार्यालयहरु निशाना बनाइएका छन् । विकासका दृष्टिले मुलुकलाई दशकौँ पछाडि धकेल्ने यी घटनाक्रमबाट सिङ्गो समाज निकै आहत भएको छ ।

प्रदर्शन शान्तिपूर्ण रहने आयोजकहरुको पूर्व घोषणा विपरीत र यसमा कुनै सङ्लग्नता नरहेको उहाँहरुको स्पष्टोक्तिका बाबजुद यस्ता विध्वंसात्मक र विनाशकारी घटनाहरु कसबाट र कसरी घटाइए, यसको यथार्थ छानबिन हुनैपर्छ । यस क्रममा राज्यका सुरक्षा निकायहरुको भूमिकाको पनि समीक्षा हुनुपर्छ ।

यस्तो विषम परिस्थितिमा सिङ्गो पार्टी पङ्क्तिलाई अविचलित, एकताबद्ध र भविष्यप्रति आशावादी भएर अगाडि बढ्न हामी आग्रह गर्दछौँ । हामीहरु निरङ्कुशतन्त्र, सशस्त्र द्वन्द्व, सामाजिक विद्वेषको चरम अवस्था र प्राकृतिक एवं मानव–निर्मित विपत्ति जस्ता असामान्य चुनौतीसँग जुझ्दै र तिनीहरुमाथि विजय हासिल गर्दै यस बिन्दुसम्म आइपुगेका हौँ । यो प्रतिकूल अवस्था सधै रहने छैन, अवश्य बदलिएर जानेछ । सङ्कटको यस घडीमा सबै कमरेडहरुलाई नियमित सम्पर्कमा रहन, समस्याको सामूहिक समाधानको प्रयाश गर्न, प्रशासनसँगको समन्वयमा सार्वजनिक तथा निजी सम्पत्तिको रक्षा गर्न, शान्ति सुरक्षा कायम राख्न र जनतालाई परेको पीरमर्कामा आवश्यक राहत प्रदान गर्र्न आग्रह गर्दछौँ । समग्र स्थितिको वस्तुनिष्ठ विश्लेषण र यस क्रममा हाम्रा कुनै कमी रहेका भए तिनको पनि समीक्षा उपयुक्त समयमा हुने नै छ । तर यतिबेला सम्हालिनु, एकताबद्ध हुनु र दृढ विश्वासका साथ अगाडि बढ्नु बढी महत्वपूर्ण छ । राष्ट्र, लोकतन्त्र र कम्युनिष्ट आन्दोलन सबैका सामु गंभीर चुनौती उत्पन्न भएको प्रतिकूल अवस्थामा यिनको रक्षाका लागि कमरेडहरुको रचनात्मक भूमिका रहने छ भन्ने विश्वास लिएका छौँ ।

प्रधानमन्त्रीको राजिनामापछिको राजनीतिक निकास संविधानसम्मत् र लोकतान्त्रिक विधिबाट खोजिनुपर्छ । सार्थक संवाद सुरु गर्न एवं परिणाममुखी संवादकै माध्यमबाट सुशासन, सहज सेवा प्रवाह र तीव्र विकासको आकाङ्क्षा लगायतका युवा पुस्ताका मागलाई संविधानसम्मत रुपमा संवोधन गर्न आवश्यक पहलका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ । लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिष्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर गर्नु हुँदैन र समाधानका प्रत्येक प्रयाशले लोकतन्त्रलाई थप सुदृढ गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।

असामान्य स्थितिको लाभ उठाउँदै देशभरि भइरहेको लुटपाट, आगजनी र तोडफोड नियन्त्रण गर्न एवं जनताको जिउधनको सुरक्षा प्रभावकारी रुपमा गर्न नेपाली सेना लगायत सबै सुरक्षा अङ्गहरुलाई हार्दिक आह्वान गर्दछौँ ।

शंकर पोखरेल

महासचिव

प्रदीप ज्ञवाली

उपमहासचिव