धनी एमाले : चार वर्षमा केन्द्रीय कोषमा ६६ करोड आम्दानी, साढे १४ करोड बचत
काठमाडौं । नेकपा एमालेले पछिल्लो चार वर्षमा केन्द्रीय कोषमा झण्डै ६६ करोड रुपैयाँ आम्दानी गरेको छ । त्यसमध्ये सबैभन्दा बढी सदस्यता शुल्क र लेबीबाट करिब ३४ करोड उठेको छ ।
ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा शनिबार पेश भएको लेखा आयोगको प्रतिवेदनअनुसारचार वर्षमा ५१ करोड खर्च हुँदा १४ करोड ५८ लाख रूपैयाँ बचत छ । भवन निर्माण सहयोग वापत् विगतको समेत गरी १३ करोड (तुल्सीलाल प्रतिष्ठान भवन निर्माण र हालको ३ करोड २३ लाखसमेत) प्राप्त भएको लेखा आयोगको प्रतिवेदनमा छ ।
एमालेका अनुसार अहिले संघीय सांसदबाट पार्टीलाई मासिक १२ हजार लिने व्यवस्था छ, जसबाट करिब ५ करोड ४० लाख आम्दानी भएको छ । बैंक ब्याज करिब ३ करोड र बाँकी रकम प्रकाशन बिक्री तथा सहयोगबाट प्राप्त भएको हो । यसअवधिमा तुल्सीलाल प्रतिष्ठानको वर्तमान भवन बनाउन ८ करोड ४६ लाख आम्दानी र खर्च भएको छ ।
प्रथम विधान महाधिवेशन खर्च ४ करोड ३७ लाख र दशौं महाधिवेशन खर्च ११ करोड ७ लाख छ । गत स्थानीय र संसदीय निर्वाचनमा करिब ३ करोड ९४ लाख खर्च भएको छ । गत ४ वर्षमा पार्टीको सभा सम्मेलन र कार्यक्रममा भएको खर्च करिब ४ करोड २६ लाख छ ।
नियमित कार्यालय सञ्चालन खर्च १ करोड ५७ लाख छ । आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणको आधारमा प्रदेशहरूको आर्थिक अवस्थाको तुलनात्मक अध्ययन गर्दा बागमती प्रदेशको आम्दानी र खर्च दुवै अरूको भन्दा बढी छ । जसअनुसार आम्दानी ४ करोड भन्दा बढी र खर्च लगभग ३ करोड छ। लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरू घाटामा छन् भने अरू प्रदेशहरू बचतमा छन् ।
गत अधिवेशनको लागि सबैभन्दा बढी आम्दानी गर्ने प्रदेश कोशी छ, जसले करिब ३८ लाख आम्दानी गरेको छ । प्रदेश अधिवेशनमा भएको खर्च सबै प्रदेशहरूमा बढी नै देखिन्छ। सबैभन्दा बढी खर्च गण्डकी प्रदेशमा देखिन्छ जुन करिब ९१ लाख छ । अरू प्रदेशहरूमध्ये लुम्विनी करिब ८३ लाख, कोशी करिब ७५ लाख, सुदूरपश्चिम करिब ६८ लाख, बागमती करिब ६७ लाख, मधेश करिब ५१ लाख, कर्णाली करिब ३२ लाख र उपत्यका विशेष करिब १३ लाख छ ।