नेकपा एमाले भन्छः मासिक ४० हजार कमाउने उच्च वर्गमा, वैदेशिक रोजगारीले सांस्कृतिक विचलन
उच्च वर्ग नै श्रम शोषण र अग्रगमनविरुद्ध
रोजगारी सिर्जना र पुँजी निर्माणमा उच्च वर्गको योगदान भए पनि श्रम शोषण गर्ने र प्रायः अग्रगमनविरुद्ध उभिने यही वर्ग उत्रिने गरेको छ ।
नेकपा एमालेले मासिक ४० हजार रुपैयाँ हाराहारी कमाउने व्यक्तिलाई उच्च वर्गमा सूचीकृत गरेको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्माओलीले एमालेको विधान महाधिवेशन गोदावरीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा वार्षिक ५ लाख रुपैयाँ कमाउनेलाई उच्च वर्गमा राखेका हुन् । मासिक ४० हजार खानेले वर्षमा ४ लाख ८० हजार रुपैयाँ कमाई हुन्छ । अझ विदा, चाडपर्व र बोनससमेत जोड्दा वार्षिक ५ लाख रुपैयाँभन्दा बढी कमाई हुन्छ ।
नेपाली समाजलाई तीन वर्गमा विभाजन गर्दै प्रधानमन्त्री ओलीले आय, जमिन स्वामित्व र सम्पत्तिका आधारमा निम्न, मध्यम र उच्च वर्ग छुट्याएका हुन् । प्रधानमन्त्री ओलीले ५ लाखभन्दा बढी वार्षिक आय हुने, ३ हेक्टरभन्दा बढी जमिन वा शहरी जग्गा भएका, बैंक, बीमा, उद्योग वा ठूला व्यवसायमा लगानी गर्नेहरू उच्च वर्गमा वर्गीकृत गरेका छन् । रोजगारी सिर्जना र पुँजी निर्माणमा उच्च वर्गको योगदान भए पनि श्रम शोषण गर्ने र प्रायः अग्रगमनविरुद्ध उभिने यही वर्ग उत्रिने गरेको ओलीको आरोप छ ।
वार्षिक डेढ लाख रुपैयाँभन्दा कम आय हुनेलाई निम्न वर्गमा राखेका ओलीले १ हेक्टरभन्दा कम जमिन वा भूमिहीन, बैंक तथा वित्तीय पहुँच नहुने र आधारभूत सुविधा अभाव हुनेहरूलाई निम्न वर्गमा समावेश गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टीको ध्यान पनि यही निम्न वर्गको पक्षपोषणमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
१.५ देखि ५ लाख रुपैयाँसम्म वार्षिक आय हुनेलाई मध्यम वर्गमा राखेका ओलीले १–३ हेक्टर जमिन स्वामित्व हुने, भौतिक, वित्तीय तथा बौद्धिक सम्पत्ति भएका र आधुनिक प्रविधिमा पहुँच भएकालाई मध्यम वर्गको रुपमा चित्रित गरेका छन् । यो वर्ग तुलनात्मक रूपमा सक्षम भए पनि अस्थिर रहेको ओलीको गुनासो छ ।
अध्यक्ष ओलीको प्रतिवेदनमा वैदेशिक रोजगारीले सांस्कृतिक विचलन बढाएको पनि निष्कर्ष निकालिएको छ । तर, वैदेशिक रोजगारीले सांस्कृतिक विचलन ल्याएको विषयमा दस्तावेजमा विस्तृत व्याख्या गरिएको छैन ।
‘वैदेशिक रोजगारीले आर्थिक उत्थानसँगै सांस्कृतिक विचलन पनि ल्याएको छ’ दस्तावेजमा भनिएको छ, ‘आन्तरिक–बाह्य आप्रवासन, बजार अर्थतन्त्रको विस्तार, प्रविधिको सहज पहुँच र बढ्दो चेतनाले समाजलाई गतिशीलत बनाएको छ ।’