घरजग्गा कारोबारमा बढ्यो चहलपहल, एक वर्षमा ७ खर्ब २० अर्बको कारोबार
समीक्षा अवधिमा घरजग्गा कारोबारअन्तर्गत लिखत पारितको संख्या १२.२८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार १५.४५ प्रतिशतले बढेको थियो ।
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा नेपालमा घरजग्गा कारोबारमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभर घरजग्गाको कुल कारोबार संख्या अघिल्लो वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा भने यस्तो कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा घरजग्गा कारोबारअन्तर्गत लिखत पारितको संख्या १२.२८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार १५.४५ प्रतिशतले बढेको थियो ।
लिखत पारितअन्तर्गतको राजीनामा कारोबारमा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा ८.१५ प्रतिशतले बढेको राजीनामा कारोबार समीक्षा अवधिमा २२.८८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, घरजग्गा कारोबार भएको कुल क्षेत्रफल १५.४१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो । कारोबार संख्या र क्षेत्रफल दुवै बढ्नुले पछिल्लो समय घरजग्गा बजारमा पुनः चहलपहल बढ्न थालेको देखाएको छ । समीक्षा अवधिमा नेपालमा ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ बराबरको थियो ।
कारोबारको रकमसँगै घरजग्गाबाट सरकारलाई प्राप्त हुने राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ । समीक्षा अवधिमा घरजग्गा कारोबारबाट प्राप्त राजस्व ४८.२६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो राजस्व २३.४५ प्रतिशतले बढेको थियो ।
घरजग्गा कारोबारबाट प्राप्त पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पुँजीगत लाभकर २९.९८ प्रतिशतले बढेको थियो ।
घरजग्गामा बैंक कर्जा पनि बढ्यो
घरजग्गा कारोबार बढेसँगै यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा समेत वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आवासीय घरजग्गा कर्जासहित घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जा समीक्षा अवधिमा ६.९३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कर्जा ५.८६ प्रतिशतले बढेको थियो । यसले घरजग्गा कारोबारसँगै बैंकिङ क्षेत्रबाट यस क्षेत्रमा जाने कर्जाको विस्तार पनि केही बढेको देखाउँछ ।
बागमतीमा घरजग्गा कारोबारको वृद्धि उच्च
प्रदेशगत रूपमा हेर्दा घरजग्गा कारोबारमा बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा बागमतीमा राजीनामा कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६९.३८ प्रतिशतले बढेको छ । यस अवधिमा मधेश प्रदेशमा भने राजीनामा कारोबार संख्या ३.४४ प्रतिशतले घटेको छ । बाँकी सबै प्रदेशमा यस्तो कारोबार बढेको राष्ट्र बैंकले जनाएको छ । कारोबार भएको कुल क्षेत्रफलमा पनि बागमती प्रदेशकै वृद्धि सबैभन्दा धेरै छ । बागमतीमा घरजग्गा कारोबार भएको क्षेत्रफल ५०.२४ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा ६.१९ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा सातवटै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लट सबैभन्दा धेरै कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने मधेश प्रदेशमा २० आनाभन्दा ठूला प्लटको कारोबार बढी थियो । अन्य प्रदेशमा भने २.५ देखि १० आनाका प्लट नै बढी कारोबार भएका थिए ।
यसले पछिल्लो समय ठूलो क्षेत्रफलका जग्गाभन्दा साना तथा मध्यम आकारका जग्गाको किनबेचमा बढी चहलपहल देखिएको संकेत गर्छ । घरजग्गा कारोबार, राजस्व र बैंक कर्जा तीनै सूचकमा भएको वृद्धिले आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा बजारमा सुधारको संकेत देखिएको छ ।
