यो साताको सेयर बजार, कुन कुन कम्पनीहरूकाे कारोबार धेरै भयाे ?
काठमाडौं । यो साता सेयर बजार ६२ अंक अर्थात् २.२२ प्रतिशत घटेको छ ।
गत साता २७८१ अंकमा रहेर बन्द भएको सेयर बजार यो साता २७१९ मा छ । बजारको यो अंक करिब २ महिनाकै न्यून हो । साउन १३ गते ३००२ अंकमा पुगेको बजार त्यसयता घट्दो क्रममा रहेर न्यूनतम बिन्दुमा झरेको छ । यो साता पहिलो दिन आइतबार ३१.१८ अंक घटेको बजार सोमबार १२.०३ अंक बढ्यो । मंगलबार १९.८९ अंक घटेको बजार बुधबार १५.६४ अंक घट्यो भने बिहीबार ६.५५ अंक घट्यो ।
आइतबार ६ अर्ब ६ करोडको कारोबार भएकोमा सोमबार ५ अर्ब १० करोडको भयो । मंगलबार ४ अर्ब ३८ करोड, बुधबार ४ अर्ब ७२ करोड तथा बिहीबार ५ अर्ब १४ करोडको भयो ।
सबै समूहका सूचक घटे
यो साता सेयर बजारका सबै सूचक घटे । भदौ लागेदेखि नै बजार ओरालो यात्रामा देखिँदा यो साता डर बढेको देखिन्छ । ‘फियर एण्ड ग्रिड इन्डेक्स’ यतिबेला एक्स्ट्रिम फियर जोनमा रहनुले त्यहीं संकेत गर्दछ ।
अर्कोतर्फ कम्पनीहरुले लाभांश दिने बेला भएको छ । दुई वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । यतिबेला धेरै व्यापारीले सेयर बजारबाटै भएको आम्दानीबाट चाडपर्वको आयात तथा व्यापारका लागि रकम जोहो गर्ने र उनीहरुको पैसा चाडपर्व नसकिएसम्म बजारमा नआउने हुँदा बजारलाई असर परेको छ । यद्यपि सैद्धान्तिक पक्ष र नीतिगत व्यवस्था सहज गरिएकाले बजार धेरै नघट्ने अनुमान छ । ब्याजदर अझै घटिरहेको, कम्पनीका वित्तीय विवरण अघिल्लो आर्थिक वर्षको तुलनामा सुधारिएको, पर्याप्त नीतिगत सुधार भएको, कम्पनीको लाभांश क्षमता बढेको जस्ता सकारात्मक पक्ष छन् ।
धेरै कारोबार भएका कम्पनी
यो साता रकमका आधारमा सबैभन्दा धेरै कारोबार भएको कम्पनी हो– नेपाल पुनर्बीमा । सो कम्पनीको यो साता १ अर्ब ५७ करोडको कारोबार भयो ।
त्यसपछि धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइनस्योरेन्स, हिमालयन डिस्टिलरी, युनियन हाइड्रोपावर, एभरेस्ट बैंक, शिवम् सिमेन्ट र एनआएन इन्फ्रास्ट्रक्चर क्रमशः छन् । कारोबार संख्याका आधारमा विकास हाइड्रोपावर, हिमालयन बैंक, हिमालयन रिइनस्योरेन्स, ट्रेड टावर, युनियन हाइड्रोपावर तथा नेपाल रिइन्स्योरेन्स छन् ।