दर्ता नभएका सामाजिक सञ्जाल नचल्ने बनाउन दूरसञ्चार प्राधिकरणको निर्देशन, को–को परे नचल्ने सूचीमा

इन्टरनेट सेवा प्रदायक संघ नेपालले शुक्रबार साँझसम्म दर्ता नभएको सामाजिक सञ्जाल बन्द हुने जनाएको छ ।

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले बिहीबार एक विज्ञप्ति जारी गर्दै फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्न निर्देशन दिएको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णय र ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम यो कदम चालिएको प्राधिकरणले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउने व्यवस्थाका लागि निर्णयअनुसार जानकारी गराइएको छ ।’


यसअघि गत साता सरकारले ७ दिनको समय दिएर दर्ता हुन सामाजिक सञ्जालहरुलाई आब्हन गरेको थियो । तर, विहीबार कार्यालय समयसम्म पनि कुनै पनि सञ्जाल दर्ता हुन नआएपछि सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले दुरसञ्चार प्राधिकरणलाई लर्ता नभएका माजिक सञ्जाल बन्द गर्न निर्देशन दिएको थियो । त्यसैअनुरुप प्राधिरकणले विभिन्न २६ सामाजिक सञ्जाल प्लेटफर्म नचल्ने बनाउन इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो ।

केही समय अघिमात्रै एनसेलले आफ्नो इन्टरनेटमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म नचल्ने जनाएको थियो भने फेसबुक सञ्चालक संस्था मेटा सम्पर्कमा आएको बताइएको छ । उता, इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले शुक्रबार साँझसम्म दर्ता नभएको सामाजिक सञ्जाल बन्द हुने जनाएको छ ।