सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निष्क्रिय गराउन दूरसञ्चार प्राधिकरणलाई सरकारको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो ।

२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । त्यसलाई बेवास्ता गरेपछि मन्त्रालयले आजबाट सामाजिक सन्जाल चल्न नमिल्ने बनाएको हो ।

सञ्चार मन्त्रालयले सूचीकरणका लागि नआएका सामाजिक सञ्जाल निष्क्रिय गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

समयसीमाभित्र सूचीकरणका लागि मन्त्रालयमा सम्पर्क गर्न नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही समयदेखि पुन: सक्रिय गराउन निर्देशन दिएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।