गृहमन्त्री रमेश लेखकले गरे आईजीपी दिपक थापाको बिदाई

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बुधबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक दिपक थापालाई शुभकामनासहित बिदाई गरेका छन् ।

गृहमन्त्री लेखकले सफल कार्यकाल सम्पन्न गरी सेवा निवृत्त भएका थापालाई बधाई दिँदै उनको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

उनले थापाले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक र इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै आगामी दिनमा पनि राष्ट्र सेवामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले शान्ति सुव्यवस्था कायम गर्ने महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकोमा थापालाई बधाई दिँदै उनको सेवा निवृत्त जीवन स्वस्थ, रचनात्मक र क्रियाशील रहोस् भनी शुभकामना दिएका छन् ।

त्यसै अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी जस्तो गौरवशाली संगठनको सदस्य भई देश र नागरिकको सेवामा समर्पित हुन पाउनु सौभाग्यको विषय भएको बताए ।