प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता, के के भए कुरा ?

विज्ञापन
ncell

काठमाडौं । चीनको तियान्जिनमा प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । 

सोमबार साँझ तियान्जिन मेइजिङ सम्मेलन केन्द्रमा भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति पुटिनसँग सिधा हवाई उडानको प्रस्ताव राखेका छन् ।

त्यस्तै, प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति पुटिनसँगको भेटमा रुसमा नेपाली विद्यार्थीले पाउँदै आएको छात्रवृत्ति बढाउने र दुई देशबीचको सम्बन्ध अझै विस्तार गर्नेगरी अघि बढ्ने प्रस्ताव गरे ।  करिब २५ मिनेट एक्लाएक्लै भएको भेटवार्तामा सरकारी टोलीसहित करिब पौने घण्टा छलफल भएको थियो ।

जवाफमा राष्ट्रपति पुटिनले रुस र नेपालबीच कहिल्यै कुनै समस्या नआएको भन्दै आपसी सहयोग थप विस्तार गर्न सकिने बताएका थिए । सहकार्यलाई गहिरो र फराकिलो कसरी बनाउन सक्छौं भनेर सोच्नु बुद्धिमानी हुने भन्दै  राष्ट्रपति पुटिनले ऐतिहासिक सहकार्यको नतिजामा ध्यान दिन सकिने बताए ।

शाङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिने क्रममा प्रधानमन्त्री ओली गत शनिबारदेखि चीनमा छन् ।