नेप्से २७६१ अंकमा, कारोबार रकम ५ अर्बमा खुम्चियो
साताको दोस्रो कारोबार दिन सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य बढेर बन्द भएको छ । गत बिहीबार र यो साताको आइतबार गरि ६९ अंकको गिरावट भएको बजारमा सोमबार १२.०३ अंक बढेर २७६१.८६ अंकमा पुगेको छ । सोमबार सेन्सेटिभ इण्डेक्स ४.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६१ अंक बढेको छ ।
नेप्से बढेपनि सोमबार कारोबार रकम भने घटेको छ । आइतबार ६ अर्ब रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा यस सोमबार ५ अर्ब १० करोड ५७ लाख ४६ हजार रुपैयाँबराबरको १ करोड १४ लाख ४० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
सोमबार हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य सर्वाधिक ६.०७ प्रतिशत बढेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य पनि ४ प्रतिशत बढेको छ । त्यस्तै, बढेको बजारमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ७.६८ प्रतिशतले घटेको छ मूल्य घट्नेमा उन्नतिलाई पछ्याएको विकास हाइड्रोपावरको सेयरमूल्य करिब ५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आइतबार सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २८ करोड ८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ भने नेपाल पुनर्वीमालाई पछ्याएको एभरेष्ट बैंकको करिब साढे २४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
सोमबार १३ समूह सूचकमध्ये ११ समूह सूचक बढ्दा २ समुह सूचक भने घटेका छन् । सोमबार बैंकिङ्ग समूह सूचक १.६२ प्रतिशतले बढ्दा व्यापार समूह सूचक १.१५ प्रतिशतले घटेको छ ।
