केही दिनमा मल आइपुग्छ, हाहाकार हुँदैन : कृषिमन्त्री अधिकारी

कपिलवस्तु । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन् ।

चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले भारतको कोलाकाताबाट आयात गरिएको मल साता दस दिनमा आइपुग्ने र किसानले सहज रूपमा पाउने बताए । अब मलको हाहाकार नहुने बताउँदै उनले किसानलाई आश्वस्त पारे ।

नेपाली कांग्रेसका जिल्ला सभापति तथा महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलामले सरकारी मल वितरण प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । सोही पार्टीका जिल्ला उपसभापति उमाकान्त खनालले आगामी वर्षदेखि किसानलाई मल, बीउलगायत सामग्री वर्षायाम अगावै उपलब्ध गराउने योजनामा काम गर्न सुझाव दिए ।