दशैंका लागि भदौ २९ देखि सुकिला नोट साट्न सकिने

काठमाडौं । दसैँका लागि नयाँ नोट (सुकिला नोट) यही भदौ २९ गतेदेखि साट्न पाइनेछ ।

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने जानकारी गराएको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकुपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सहटी गर्न सकिनेछ । यस्तै, बैंक तथा वित्तीय संस्था (क, ख, र ग वर्ग) का शाखा कार्यालयहरुबाट सर्वसाधारणका साथै संघ/संस्थालाई कारोबार समयमा नोट सटही हुनेछ ।

आम नागरिकहरुले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । तर, राष्ट्र बैंकले सूचनामा कति रकम साट्न सकिने भन्ने खुलाएको छैन । 

यस वर्ष विजया दशमी असोजको १६ गते परेको छ । घटस्थापना ६ गते परेको छ भने फूलपाति १३ गते छ । दसैं पर्व घटस्थापनादेखि नै सुरु हुन्छ ।