उच्चस्तरीय भेटवार्तामा लिपुलेकबारे कुरा उठाउने प्रधानमन्त्री ओलीको उद्घोष
चीनबाट फर्किएपछि प्रधानमन्त्री ओली भदौ अन्तिम साता भारतको दुई दिने औपचारिक भ्रमणमा जाने कार्यक्रम छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लिम्पियाधुराबाट भारत—चीनले व्यापार मार्ग खोल्न गरेको सम्झौताको विषयमा आवाज उठाउने बताएका छन् ।
संसद् बैठकलाई सम्बोधन गरेर फर्कने क्रममा संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले अवश्य पनि विषय उठान हुने बताएका हुन् ।
‘उच्चस्तरीय भेटवार्तामा लिपुलेकको कुरा त उठाउनुहुन्छ नि प्रधानमन्त्रीज्यू ?’ भन्दै प्रधानमन्त्री ओलीलाई सञ्चारकर्मीले प्रश्न गरेका थिए ।
प्रधानमन्त्री ओलीले जवाफ दिए, ’अवश्य उठ्छ ।‘
आजै बसेको मन्त्रिपरिषद् बैठकले भोलिबाट हुने प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरे लगत्तै संसद्लाई जानकारी गराएका थिए ।
भोलि (भदौ १४) गतेबाट १८ गतेसम्मका लागि प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा टोली चीन भ्रमणमा जाँदैछ ।
चीनमा रहँदा प्रधानमन्त्री ओलीले सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनेछन् । भदौ १५ र १६ गते उत्तरी चीनको तियान्जिनमा आयोजना हुने एससीओ सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्दैछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य मुलुकका सरकार तथा राष्ट्रप्रमुख समेत उपस्थित हुनेछन् ।
चीनमा ओलीले चिनियाँ राष्ट्रपति सीसँग अलग्गै भेटवार्ता गर्नेछन् भने १७ भदौमा तिआन्जिनमा आयोजना हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् ।
चीनमा रहँदा प्रधानमन्त्री ओली जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध र विश्वव्यापी फासिवादविरोधी युद्धमा विजय प्राप्तिको ८० औं वार्षिकोत्सव कार्यक्रममा समेत सहभागी हुने छन् ।
चीनबाट फर्किएपछि प्रधानमन्त्री ओली भदौ अन्तिम साता भारतको दुई दिने औपचारिक भ्रमणमा जाने कार्यक्रम छ ।
