सभामुखकाे आग्रहलाई अस्वीकार गर्दै रास्वपा र राप्रपाद्वारा सदन बहिष्कार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि सदन बहिष्कार गरेका छन् । प्रतिनिधिसभाको बैठकमा रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट ज्ञानेन्द्र शाहीले बोलेपछि बैठक छाडेर हिँडे। त्यसअघि संसद सुरु हुनेबितिकै दुई दलका सांसदहरुले उठेर विराेध जनाएका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले सहमतिमा संसद् सञ्चालन गराैं भन्ने आग्रह गर्दै आफ्ना केही कुरा राखेर रास्वपा सांसद गणेश पराजुलीलाई बोल्न दिए । सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन भएसम्म आन्दोलन जारी रहने बताए । उनले प्रधानमन्त्रीको चीन भ्रमणअघि सदनबाट राष्ट्रियताका सवालमा साझा अपधारणा बनाउन आग्रह गरे । साझा अवधारणकै आधारमा छिमेकी दुवै राष्ट्र प्रमुखसँग केबल शिष्टाचार मात्रै नभई दृढ परिणाममुखी, शान्तिपूर्ण र कूटनीतिक प्रभावकारी संवाद गर्नुपर्ने उनले बताए । उनले अन्तर्राष्ट्रिय सीमा र राष्ट्रियताको मुद्दामा जनताले मौनता नभइ सरकारको स्पष्ट जवाफ माग गरेको बताए ।
त्यस्तै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भारत र चीनबीच लिपुलेकलाई समेटेर भएको सहमतिप्रति आपत्ति जनाउँदै संयुक्त राष्ट्र सङ्घमा कुरा राख्न माग गरे । शाहीले भारत र चीनसँग प्रधानमन्त्रीस्तरीय वार्ता गर्न अपिल गरे । उनले भिजिट भिसा प्रकरणमा सरकारले संसदीय छानबिन समिति गठन नहुँदासम्म आन्दोलन जारी राख्ने जिकिर गरे ।
पराजुली र शाहीले धारणा राखेपछि दुवै दलका सांसदहरुले सदन बहिष्कार गरेका थिए । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदहरुले जेठ १३ गतदेखि सदनमा निरन्तर विरोध जनाउँदै आएका छन् ।
