प्रभु बैंकको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ
प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
हाल प्रकाशित वित्तीय विवरणमा अघिल्लो आर्थिक वर्षको खुद नाफा ५१ करोड ८ लाख रुपैयाँ मात्र छ । जसका कारण नाफा वृद्धिदर उल्लेख्य देखिएको हो । बैंकले गत वर्ष प्रकाशित गरेको विवरण अनुसार २०८१ असार मसान्तसम्ममा बैंकको खुद नाफा ४ अर्ब ४८ करोड रुपैयाँ थियो ।
बैंकले इम्पेरमेन्ट चार्जमा हेरफेर गरेका कारण खुद नाफामा उल्लेख्य वृद्धि देखिएको हो । गत वर्ष प्रकाशित विवरण अनुसार २०८१ असार मसान्तसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज ५५ करोड ६८ लाख रुपैयाँ थियो । तर हाल प्रकाशित विवरण अनुसार सोही अवधिसम्ममा बैंकको यस्तो चार्ज ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। यही कारण बैंकको नाफा घट्न गई हालको नाफा वृद्धिदर बढी देखिएको हो ।
२०८२ असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ १२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.६ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा रहेको छ ।