भोल्टे रोमिङ सेवा भित्र्याउने पहिलो टेलिकम कम्पनी एनसेल

काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपालबाहिर जाने आफ्ना ग्राहकहरुका लागि भ्वाइस ओभर लङ टर्म इभोल्युसन (भोल्टे) अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गर्ने एनसेल पहिलो नेपाली टेलिकम कम्पनी बनेको छ । यससँगै अब ग्राहकहरूले विदेश यात्रा गर्दा पनि स्पष्ट सुनिने भ्वाइस कल र उच्च गतिको डेटा सेवा उपयोग गरी सधैं अन रहन सक्छन् ।

एनसेलले पहिलादेखि नै विभिन्न देशबाट नेपाल आउने विदेशीहरुलाई इनबाउन्ड भोल्टे रोमिङ सेवा दिँदै आएको छ । कम्पनीले अब आफ्नो सेवा विस्तार गर्दै, सोमबारबाट लागू हुनेगरी भारत जाने ग्राहकका लागि एयरटेलसँगको साझेदारीमा आउटबाउन्ड भोल्टे रोमिङ सेवा पनि प्रदान गर्न थालेको हो ।

भोल्टे दूरसञ्चार क्षेत्रको एक नयाँ प्रविधि हो । यसले फोरजी नेटवर्कमार्फत अझ छिटो कनेक्ट हुने उच्च गुणस्तरीय आवाजसहितको एचडी कल सुविधा प्रदान गर्दछ । यो सेवा थपिँदा पहिला नै उत्कृष्ट रोमिङ अफरको फाइदा लिइरहेका एनसेलका ग्राहकहरूका लागि भारत रोमिङ अझै परिस्कृत भएको छ ।

विभिन्न उद्देश्यका साथ नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकसमेत सबै ग्राहकलाई उत्कृष्ट डेटा र भ्वाइस सेवा अनुभव प्रदान गर्न एनसेल प्रतिबद्ध रहेको छ । ग्राहकलाई भारत भ्रमणका बेलामा गुणस्तरीय सेवा प्रदान गर्न एयरटेलसँग साझेदारी गर्न पाएकोमा कम्पनी खुसी रहेको र थप अन्तर्राष्ट्रिय मोबाइल सेवा प्रदायकहरूसँग भोल्टे रोमिङ विस्तार गर्न परीक्षणहरू गरिरहेको एनसेलले जनाएको छ ।

एनसेलले भारतको जियो र भोडाफोन, अमेरिकाको एटी एन्ड टी, टी मोबाइल, र भरिजोन, जापानका सफ्टबैंक र एनटीटी डोकोमो, चीनको चाइना मोबाइल र चाइना युनिकम तथा क्यानडाको बेल र टेलस लगायतका प्रमुख अन्तर्राष्ट्रिय मोबाइल सेवा प्रदायकहरूसँग आउटबाउन्ड रोमिङ सेवा परीक्षण गरिरहेको छ ।