मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो ।

हाइड्रो सपोर्ट कम्पनीले ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो । सिभिल ठेकेदार रसुवा–मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२ नागढङ्गामा विस्फोटक पदार्थको प्रयोग गरेर गत हप्तादेखि ४ हजार ३ सय १९ मिटर लामो सुरुङ निर्माण सुरु गरेको हाइड्रो सपोर्टका सञ्चालक चन्द्र ढकालले बताए ।

अडिटको दूरी ४ सय ५९ मिटर छ। बाँधतर्फबाट यही साउन महिनाभित्र र आउटलेटबाट हिउँददेखि सुरुङ खन्ने तयारी भएको छ । अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा १२ मिटर अग्लो र ३५ मिटर लामो बाँध बनार्इ ल्याउने पानी १५१ मिटर उचाइबाट अन्नपूर्ण–२ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

रन अफ दर रिभर प्रकृतिको यस आयोजनाको विद्युतगृह, स्विचार्ड, कन्ट्रोल रुम जमिनभित्र भूमिगत हुन्छ । रसुवा–मल्टि जेभीका प्रमुख कार्यकारी अधिकृत फणिन्द्रराज पाण्डेले सुरुङ निर्माणका लागि अत्याधुनिक बुमर रोवटिक सटकिटलगायत उपकरण ल्याएको बताए ।

मध्य कालीगण्डकीको विद्युत् नौनीबगरदेखि सात किलोमिटरमाथि दानामा रहेको २२० केभी क्षमताको सवस्टेशनमार्फत केन्द्रिय प्रणालीमा आबद्ध हुनेछ। आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको हाइड्रो सपोर्टका सञ्चालक ढकालले बताए । कुल १२ अर्ब ९३ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा नबिल बैंक लिमिटेडको नेत्तृत्वमा छवटा वाणिज्य बैंकले ७५ प्रतिशत, २५ प्रतिशत प्रवर्धक र सेयर लगानीकर्तामार्फत जुटाइने भएको छ ।

नेपाल विद्युत् प्रधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिद दर ८ रुपैयाँ ४० पैसा र वर्षायामको दर ४ रुपैयाँ ८० पैसा कायम भएको छ । आयोजनाबाट हिउँदमा १३० गिगावाटबाट १ अर्ब नौ करोड रुपैयाँ र बर्खामा २७७ गिगावाटबाट १ अर्ब ३३ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ ।

मध्य कालीगण्डकीसहित कालीगण्डकी नदी बेसिनमा ३ सय मेगावाटभन्दा बढी क्षमताका तीन वटा जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् । ६५ मेगावाटको माथिल्लो कालीगण्डकी, १८० मेगावाटको कालीगण्डकी गर्जले पनि निर्माणको तयारी गरेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।