भिजिट भिसामै विदेश गएर घरजम गरेर फर्किएकाहरु उपप्रधानमन्त्री बने : कांग्रेस प्रमुख सचेतक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसामा विदेश गएर त्यहीँको नागरिकता लिएर बसेको मानिस नेपाल आएर उपप्रधानमन्त्रीसम्म बनेको भन्दै रास्वपालाई भिजिट भिसाप्रति धेरै चिन्तित नहुन आग्रह गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । दुई महिनादेखि भिजिट भिसाको नाममा संसद् अवरोध गर्दै आएको रास्वपा र रास्वपा सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उनले भिजिट भिसाकै कारण अहिलेको उपलब्धि प्राप्त गर्नेहरुले धेरै चिन्ता गर्न नसुहाउने बताए ।

भिजिट भिसामा जाने, उतैको नागरिकता लिने, उतै घरजम गर्ने र स्वदेश फर्किएर दुई, चारवटा काण्ड मच्चाएपछि पनि देशको उपप्रधानमन्त्री बन्ने काम रास्वपाबाटै भएको उनको टिप्पणी छ ।

रास्वपामा धेरै नेता र सांसदहरु भिजिट भिसाबाटै अहिलेको स्थितिमा आएको उनको भनाइ छ ।

प्रमुख सचेतक घिमिरेले भिजिट भिसामा गएर बाहिरकै पासपोर्टले नेपालमा आएर देशको उपप्रधानमन्त्रीसम्म बनेको भन्दै यसबारे धेरै चिन्तित नहुन रास्वपालाई आग्रह गरे ।