तिहारमा साढे ६४ करोडको फूल कारोबार हुने अनुमान, सयपत्रीमा भने अझै आयातको भर
यस वर्ष ५१ लाख ८० हजार माला खपत हुने अनुमान, सयपत्रीका ५ लाख माला अपुग; पुष्पजन्य वस्तुको आयात निर्यातभन्दा २२ गुणा बढी
गत वर्षको तिहारमा व्यावसायिक रूपमा उत्पादित करिब ४० लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष माग बढेर ४५ लाख पुग्ने अनुमान गरिएको छ ।
काठमाडौं । तिहारमा फूल र मालाको माग उच्च हुने भए पनि नेपाली बजारले अझै सबै माग स्वदेशी उत्पादनबाट पूरा गर्न सकेको छैन । यस वर्ष तिहारमा मात्रै ६४ करोड ५० लाख रुपैयाँ बराबरको फूल, माला र गमलाको कारोबार हुने अनुमान गरिएको छ । तर, सयपत्री फूलको माग धान्न करिब ५ लाख माला अपुग हुने देखिएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार यस वर्ष तिहारमा विभिन्न प्रकारका ५१ लाख ८० हजार माला खपत हुने अनुमान छ । त्यस्तै, सयपत्रीका जीवित फूलका पोली र गोदावरीका गमलाको बिक्रीबाट १६ करोड ५० लाख रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ ।
एसोसिएसनले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार यस वर्ष ४५ लाख सयपत्री, ६ लाख मखमली, २० हजार गोदावरी र ६० हजार मिक्स फूलका माला खपत हुनेछन् । यी मालाको कुल कारोबार ४८ करोड रुपैयाँ पुग्ने अनुमान छ ।
मालामध्ये सबैभन्दा बढी कारोबार सयपत्रीको हुनेछ । ४५ लाख सयपत्री मालाको औसत थोक मूल्य प्रतिमाला ९० रुपैयाँका दरले ४० करोड ५० लाख रुपैयाँको कारोबार हुने अनुमान छ । त्यस्तै, ६ लाख मखमली मालाको औसत थोक मूल्य ४५ रुपैयाँका दरले २ करोड ७० लाख रुपैयाँको कारोबार हुनेछ ।
गोदावरी मालाको औसत थोक मूल्य प्रतिमाला १ हजार २०० रुपैयाँ कायम हुँदा २० हजार मालाबाट २ करोड ४० लाख रुपैयाँको कारोबार हुने अनुमान छ । विभिन्न फूल मिसाएर बनाइने ६० हजार मिक्स मालाको औसत थोक मूल्य ४०० रुपैयाँका दरले थप २ करोड ४० लाख रुपैयाँको कारोबार हुनेछ ।
सयपत्रीको माग धान्न ५ लाख माला अपुग
गत वर्षको तिहारमा व्यावसायिक रूपमा उत्पादित करिब ४० लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष माग बढेर ४५ लाख पुग्ने अनुमान गरिएको छ । तर, असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण केही क्षेत्रमा सयपत्री खेतीमा क्षति पुगेपछि मागअनुसारको उत्पादन नहुने देखिएको हो ।
एसोसिएसनका अनुसार यस वर्ष आन्तरिक उत्पादनबाट करिब ४० लाख सयपत्री माला बराबरको आपूर्ति हुने अनुमान छ । यस आधारमा बजारको अनुमानित माग पूरा गर्न थप ५ लाख माला आवश्यक पर्नेछ ।
उक्त अभाव व्यवस्थापनका लागि स्थानीय तथा ग्रामीण क्षेत्रमा उत्पादित फूललाई बजारसम्म ल्याउने पहल भइरहेको एसोसिएसनका अध्यक्ष राजेश भक्त श्रेष्ठले बताए । आवश्यक परे अपुग फूलको समेत व्यवस्थापन गरिने उनको भनाइ छ ।
हाल सातै प्रदेशका विभिन्न जिल्लामा २२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सयपत्रीको व्यावसायिक खेती भइरहेको छ । ग्रामीण तथा उत्पादन क्षेत्रमा सयपत्रीको माग लगभग पूर्ण रूपमा स्वदेशी उत्पादनबाटै पूरा गर्न सकिने भए पनि मुख्य सहरी तथा बजार केन्द्रित क्षेत्रमा आन्तरिक उत्पादनले करिब ८८.८९ प्रतिशत माग मात्रै धान्ने अनुमान छ ।
मखमलीमा आत्मनिर्भर, २ लाख माला निर्यात हुने
सयपत्रीको तुलनामा मखमली फूलको उत्पादनमा भने नेपाल आत्मनिर्भर रहेको एसोसिएसनले जनाएको छ । यस वर्ष तिहारमा ६ लाख मखमली माला खपत हुने अनुमान छ । त्यसमध्ये करिब ४ लाख माला आन्तरिक बजारमा खपत हुने र २ लाख माला निर्यात हुने अपेक्षा गरिएको छ ।
काठमाडौंको इचंगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी–बडिखेल, धादिङ, पाल्पा, कैलाली र इलामलगायत क्षेत्रमा मखमली फूलको व्यावसायिक उत्पादन हुँदै आएको छ ।
तिहारमा मालासँगै घर, आँगन, कार्यलय तथा व्यावसायिक परिसर सजाउन प्रयोग गरिने जीवित फूलका पोली र गमलाको माग पनि उल्लेख्य हुने गरेको छ ।
यस वर्ष ३५ लाख सयपत्री फूलका पोली वा बोट बिक्री हुने अनुमान छ । प्रतिपोली औसत ३० रुपैयाँका दरले यसको कारोबार १० करोड ५० लाख रुपैयाँ पुग्नेछ । त्यस्तै, ८ लाख गोदावरी फूलका गमला बिक्री हुने र प्रतिगमला औसत ७५ रुपैयाँका दरले ६ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।
यसरी सयपत्रीका पोली र गोदावरीका गमलाबाट मात्रै १६ करोड ५० लाख रुपैयाँको कारोबार हुने एसोसिएसनको प्रक्षेपण छ ।
काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, मकवानपुर, झापा, इलाम, धनकुटा, मोरङ, सुनसरी, धनुषा, सर्लाही, सप्तरी, सिराहा, रुपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ र कैलालीलगायत जिल्लामा सयपत्रीको व्यावसायिक उत्पादन हुँदै आएको छ ।
फूलमा किन बढ्दैछ आयात निर्भरता ?
तिहारमा खपत हुने सयपत्री र मखमली मालाको ठूलो हिस्सा स्वदेशमै उत्पादन हुने भए पनि समग्र पुष्प व्यवसायमा भने आयात निर्भरता उच्च छ । विशेषगरी फूलका बीउबिजन, मदर प्लान्ट, कट फ्लावर तथा अन्य पुष्पजन्य सामग्रीका लागि नेपाल विदेशी बजारमा निर्भर रहँदै आएको छ ।
भन्सार विभागको आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार नेपालले २६ करोड १३ लाख ७२ हजार रुपैयाँ बराबरका पुष्प तथा पुष्पजन्य वस्तु आयात गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आयात १२ करोड ७० लाख ८९ हजार रुपैयाँको थियो । यस वर्ष आयात १०५.६६ प्रतिशतले बढेको हो ।
यसैगरी, नेपालबाट सोही अवधिमा १ करोड १५ लाख ७८ हजार रुपैयाँ बराबरका पुष्प तथा पुष्पजन्य वस्तु निर्यात भएका छन् । अघिल्लो आर्थिक वर्षमा २ करोड १३ लाख ६० हजार रुपैयाँको निर्यात भएको थियो । यस वर्ष निर्यात ४५.७९ प्रतिशतले घटेको छ ।
यसरी पुष्प तथा पुष्पजन्य वस्तुको आयात निर्यातको तुलनामा करिब २२ गुणा बढी छ । नेपालबाट मुख्य रूपमा बल्ब, राइजोम, जीवित बिरुवा, ड्राइ फ्लावर र कट फ्लावर अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा तथा भुटानलगायत देशमा निर्यात हुने गरेका छन् ।
यता भारत, नेदरल्यान्ड्स, चीन, जापान, जर्मनी, केन्या, थाइल्यान्ड, भियतनाम, अमेरिका, इजिप्ट, युगान्डा, बेल्जियम, इटाली, संयुक्त अरब इमिरेट्स, ताइवान र इजरायललगायत देशबाट पुष्प तथा पुष्पजन्य वस्तु आयात हुने गरेको छ ।
पुष्प व्यवसाय विस्तार हुँदै गए पनि गुणस्तरीय बीउबिजन र बिरुवा उत्पादन, अनुसन्धान, आधुनिक प्रविधि, उत्पादन सामग्रीको सहज उपलब्धता र बजार पूर्वाधारको अभावले स्वदेशी उत्पादनले अपेक्षित गति लिन सकेको छैन । समयमै उत्पादन सामग्री आयात गर्न नसक्दा आन्तरिक उत्पादन घट्नुका साथै वार्षिक कारोबारमा समेत असर पर्ने एसोसिएसनको भनाइ छ ।
त्यस्तै, उत्पादन र बजारबीचको कमजोर समन्वय, फूलको भण्डारण तथा ढुवानी पूर्वाधारको अभाव र मूल्यमा हुने उतारचढावले पनि व्यवसायीलाई चुनौती थपेको छ । पुष्प प्रवद्र्धन नीति प्रभावकारी कार्यान्वयन, गुणस्तरीय बीउबिजन उत्पादन, अनुसन्धान र निर्यात प्रवद्र्धनमा लगानी बढाउन सके आयात प्रतिस्थापनसँगै निर्यात विस्तारको सम्भावना रहेको व्यवसायीहरूको भनाइ छ ।
एसोसिएसनका अध्यक्ष श्रेष्ठले तिहारलगायत पर्वमा स्वदेशी फूलको प्रयोग बढाउन उपभोक्ता, व्यापारी तथा सरोकारवालालाई आग्रह गरेका छन् । केही क्षेत्रमा अविरल वर्षाका कारण सयपत्री खेतीमा क्षति पुगे पनि विभिन्न उत्पादन क्षेत्रबाट बजारमा फूल आपूर्ति भइरहेको उनले बताए ।
उत्पादन क्षेत्रबाट बजार केन्द्रसम्म फूलको सहज ढुवानी, उचित मूल्य निर्धारण र बजार व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको एसोसिएसनले जनाएको छ । स्वदेशी फूलको प्रयोग बढाउन सके नेपाली कृषक तथा पुष्प व्यवसायीको आम्दानी वृद्धि, रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।