अब काठमाडौं उपत्यकाबाटै अन्य जिल्लाका नागरिकताको प्रतिलिपि लिन सकिने
नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकले पनि उपत्यकाका जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् ।
काठमाडौं । नागरिकताको प्रतिलिपि लिन अब नागरिकता जारी भएको जिल्लामै पुग्नुपर्ने बाध्यता हटेको छ । नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकले पनि उपत्यकाका जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले यस्तो व्यवस्था लागू गरेको जनाएको छ । नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार नागरिकताको प्रतिलिपि जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट लिन सकिने व्यवस्था गरिएको हो ।
गृह मन्त्रालयले कात्तिक ९ गते पठाएको परिपत्रअनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट फरक–फरक प्रदेशका जिल्लाका नागरिकले सेवा लिन सक्नेछन् । व्यवस्थाअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्नेछन् । त्यस्तै, ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा भक्तपुरबाट कोशी र मधेश प्रदेशका नागरिकले सेवा पाउनेछन् ।
आगलागीमा नागरिकता जलेको, पानीले भिजेर प्रयोग गर्न नमिल्ने भएको, हराएको वा नयाँ ढाँचामा प्रतिलिपि आवश्यक परेको अवस्थामा सम्बन्धित कार्यालयमा निवेदन दिन सकिनेछ । प्रतिलिपि जारी गर्नुअघि प्रशासनले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा रहेका विवरण रुजु गर्नेछ । यसबाट नागरिकताको अभिलेख यकिन गरेर मात्र प्रतिलिपि जारी गरिनेछ ।
तर, प्रणालीमा नागरिकताको अभिलेख नभेटिएमा वा अभिलेखमा भएको विवरणभन्दा फरक नाम, थर, जन्ममिति लगायतका विवरण सच्याएर प्रतिलिपि लिनुपर्ने भएमा भने नागरिकता जारी भएको जिल्लामै सम्पर्क गर्नुपर्नेछ । पहिलो दृष्टिमै शंकास्पद देखिएका नागरिकताको हकमा पनि सम्बन्धित जिल्लाबाटै प्रक्रिया अघि बढाउन प्रशासनले अनुरोध गरेको छ । नयाँ व्यवस्थाले उपत्यकामा बसोबास गर्दै आएका अन्य जिल्लाका नागरिकलाई नागरिकताको प्रतिलिपि लिन आफ्नो जिल्ला धाउनुपर्ने झन्झट कम गर्ने अपेक्षा गरिएको छ ।