साउदीमा सुरक्षा खतरा बढेपछि सतर्क रहन नेपाली दूतावासको आग्रह

हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीलाई उडानको समय वा तालिकामा परिवर्तन भए–नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र यात्रा गर्न दूतावासले सुझाव दिएको छ।

काठमाडौं । साउदी अरेबियामा सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले आवश्यक कामबाहेक घरबाहिर ननिस्कन र सुरक्षा निकायका निर्देशन पालना गर्न अनुरोध गरेको हो ।

दूतावासले जारी गरेको सूचनामा सुरक्षा चेतावनी जारी भएका क्षेत्रमा विशेष सावधानी अपनाउन तथा आधिकारिक निकायबाट जारी सूचनालाई मात्र आधार मान्न भनिएको छ। सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक वा उत्तेजक सामग्री पोस्ट तथा सेयर नगर्न पनि आग्रह गरिएको छ ।

हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीलाई उडानको समय वा तालिकामा परिवर्तन भए–नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र यात्रा गर्न दूतावासले सुझाव दिएको छ ।

आपत्कालीन अवस्था वा कुनै समस्या आइपरेमा रियादस्थित नेपाली राजदूतावास र जेद्दास्थित महावाणिज्यदूतावासमा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।

साउदी अरेबियामा करिब चार लाख नेपाली श्रमिक कार्यरत रहेको अनुमान छ। रोजगारीका लागि प्रत्येक वर्ष नेपालबाट करिब ९० हजार नेपाली त्यहाँ जाने गरेका छन् ।