दानामा प्रयोग हुने सामग्रीबाट बिस्कुट बनाएको आरोप, नेपालमा प्रियागोल्डको बिक्री रोकियो
भारतीय पक्षको सूचनाअनुसार बिस्कुट उत्पादनमा मानव उपभोगका लागि प्रयोग गर्न नमिल्ने, गाईवस्तुको दानाका रूपमा प्रयोग गर्नुपर्ने सामग्री प्रयोग गरिएको पाइएको छ ।
काठमाडौं । भारतमा खाद्य सुरक्षा मापदण्ड गम्भीर रूपमा उल्लङ्घन गरेको पाइएपछि भारतीय कम्पनी सूर्य फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गर्दै आएको प्रियागोल्ड बिस्कुटको नेपालमा आयात, बिक्री वितरण र उपभोगमा रोक लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्रीका लागि राखिएका बिस्कुटसमेत तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।
भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणले प्रियागोल्ड बिस्कुट उत्पादक कम्पनीको अनुमतिपत्र निलम्बन गरेपछि नेपालमा पनि उक्त उत्पादनको बिक्री वितरण रोकिएको हो । भारतीय निकायले सन् २०२६ अक्टोबर १७ अर्थात् २०८३ असोज ३१ गते जारी गरेको सूचनाका आधारमा विभागले यस्तो निर्णय गरेको जनाएको छ ।
भारतीय पक्षको सूचनाअनुसार बिस्कुट उत्पादनमा मानव उपभोगका लागि प्रयोग गर्न नमिल्ने, गाईवस्तुको दानाका रूपमा प्रयोग गर्नुपर्ने सामग्री प्रयोग गरिएको पाइएको छ । यसका अतिरिक्त उत्पादन कारखानामा सरसफाइ, कीट नियन्त्रण, कच्चा पदार्थको भण्डारण र कर्मचारीको व्यक्तिगत स्वच्छतासम्बन्धी मापदण्डमा समेत गम्भीर कमजोरी भेटिएको जनाइएको छ ।
कारखानामा आवश्यक मर्मतसम्भारको अभाव रहेको र कर्मचारीले पालना गर्नुपर्ने स्वच्छतासम्बन्धी नियमसमेत उल्लङ्घन भएको भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले जनाएको छ । यी कमजोरीका आधारमा कम्पनीको अनुमतिपत्र निलम्बन गर्नुका साथै कम्पनीविरुद्ध कानुनी कारबाही अघि बढाउन स्वीकृति दिइएको सूचनामा उल्लेख छ ।
नेपालमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णले उक्त बिस्कुटका आधिकारिक आयातकर्ता तथा खाद्य व्यवसायीलाई बजारमा रहेका सबै बिस्कुट तत्काल फिर्ता गर्न निर्देशन दिएका छन् । फिर्ता गरिएका बिस्कुटको सुरक्षित व्यवस्थापन गर्न र त्यससम्बन्धी आवश्यक अभिलेख राख्नसमेत विभागले भनेको छ ।
विभागले सम्बन्धित स्थानीय तह र स्थानीय प्रशासनलाई बजार अनुगमन गरी बिक्री रोक्ने निर्णय कार्यान्वयन गराउन आग्रह गरेको छ। साथै, उपभोक्तालाई प्रियागोल्ड बिस्कुट खरिद तथा उपभोग नगर्न सचेत गराइएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार खाद्य पदार्थको गुणस्तर र स्वच्छतासम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने व्यवसायीमाथि कारबाही गरिने विभागले जनाएको छ ।