काठमाडौं महानगरमा आजदेखि बाइक एम्बुलेन्स सेवा सुरु
ट्राफिक जाम र साँघुरा गल्लीका कारण चारपाङ्ग्रे एम्बुलेन्स समयमै पुग्न नसक्ने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरिएको हो ।
काठमाडौँ । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ ।
शुक्रवार काठमाडौं महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रश्तुतीकरण कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले यस्तो जानकारी दिएकी हुन् । उनकाअनुसार १०२ नम्बरमा फोन गरी एम्बुलेन्स माग गर्ने सेवाग्राहीलाई आवश्यकताअनुसार बाइक एम्बुलेन्स समेत पठाइने छ । ट्राफिक जाम र साँघुरा गल्लीका कारण चारपाङ्ग्रे एम्बुलेन्स समयमै पुग्न नसक्ने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरिएको हो । कार्यवाहक प्रमुख डंगालले काठमाडौंमा एम्बुलेन्सको संख्या पर्याप्त भएपनि समयमै सेवा उपलब्ध गराउन चुनौती रहेको बताइन् । ट्राफिक जाम र भौगोलिक अवस्थाका कारण कतिपय स्थानमा एम्बुलेन्स पुग्न ढिलाइ हुने गरेको उल्लेख गर्दै उनले उक्त समस्याको समाधानका लागि बाइक एम्बुलेन्स सेवा सुरु गरिएको बताइन् । उनले चारपाङ्ग्रे एम्बुलेन्स पुग्न नसक्ने चोक तथा साँघुरा गल्लीमा बिरामीलाई तत्काल प्राथमिक सेवा उपलब्ध गराउन बाइक एम्बुलेन्स परिचालन गरिने बताइन् । उनका अनुसार बाइक एम्बुलेन्सलाई आपत्कालीन अवस्थामा पहिलो प्रतिक्रिया दिने सेवाका रूपमा सञ्चालन गरिनेछ ।
महानगरपालिकाले स्वास्थ्य संस्थाको आवश्यकता र उपलब्ध तथ्यांकका आधारमा पूर्वाधार, उपकरण तथा प्रत्यक्ष स्वास्थ्य सेवामा सहयोग र सहकार्य गर्दै आएको उनको भनाइ छ ।