चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सारमा, अन्य संलग्नको खोजीमा प्रहरी

बूढानीलकण्ठबाट बरामद भएको २१ किलो ७५० ग्रामभन्दा बढी सुन प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।

काठमाडौं । बूढानीलकण्ठबाट बरामद भएको २१ किलो ७५० ग्रामभन्दा बढी सुन प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ । सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिकलाई पनि भन्सार कार्यालय पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।

भन्सारमा सुन बुझाए पनि घटनासँग जोडिएका अन्य व्यक्ति तथा समूहको पहिचान गर्न प्रहरीले अनुसन्धान जारी राखेको छ । तस्करीको सम्भावित सञ्जाल पत्ता लगाउन सबै क्षेत्र समेटेर अनुसन्धान टोली परिचालन गरिएको खड्काले बताए ।

गत २२ असोजमा प्रहरीले बूढानीलकण्ठ नगरपालिका–माथिल्लो भंगालस्थित एक घरबाट २१ किलो ७५०.६८ ग्राम सुन बरामद गरेको थियो । बरामद हुँदाको बजार मूल्यअनुसार उक्त सुनको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको थियो ।

प्रहरीले घरबाट सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का तथा लेसिलो अवस्थामा रहेको सुन बरामद गरेको थियो । चीनको जियाङ्सु ग्वाङडोङका २७ वर्षीय हान फिई, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेनलाई पनि पक्राउ गरिएको थियो ।

प्रारम्भिक विवरणअनुसार उनीहरूले माथिल्लो भंगालमा सिंगो घर भाडामा लिएर सुन प्रशोधन गर्ने कारखाना सञ्चालन गरेको आरोप छ । बरामद सुन हवाई मार्ग हुँदै नेपाल भित्रिएको हुन सक्ने प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।