भारतसँग आर्थिक साझेदारी बढाउनेदेखि भुटानी शरणार्थी फिर्तासम्म पाण्डेको योजना

आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने लक्ष्य, दीर्घकालीन विद्युत् खरिद सम्झौताको कार्यान्वयन, प्रसारण लाइन विस्तार तथा गैरभन्सार अवरोध न्यूनीकरणमार्फत व्यापार घाटा घटाउने योजना उनले अघि सारेका छन् ।

काठमाडौं । भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई केवल भावनात्मक निकटतामा सीमित नराखी ठोस परिणाममुखी आर्थिक साझेदारीतर्फ रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले सार्वभौम समानता, आपसी सम्मान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर कूटनीतिक जिम्मेवारी निर्वाह गर्ने बताए । नेपालको संविधान, पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसङ्घको बडापत्रका आधारमा परराष्ट्र नीति सञ्चालन हुने स्पष्ट पार्दै पाण्डेले सरकारको आधिकारिक नीति र कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु राजदूतको प्रमुख दायित्व हुने उल्लेख गरे ।

परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गरेर नेपालमा लगानी र प्रविधि भित्र्याउन आफू क्रियाशील रहने उनले बताए । आफ्नो कार्ययोजनामा पाण्डेले ऊर्जा, व्यापार, सीमा व्यवस्थापन र कनेक्टिभिटीलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने लक्ष्य, दीर्घकालीन विद्युत् खरिद सम्झौताको कार्यान्वयन, प्रसारण लाइन विस्तार तथा गैरभन्सार अवरोध न्यूनीकरणमार्फत व्यापार घाटा घटाउने योजना उनले अघि सारेका छन् ।

सीमा व्यवस्थापनतर्फ आधुनिक प्रविधि र कृत्रिम बौद्धिकता (एआई) को प्रयोगमार्फत ‘स्मार्ट बोर्डर कन्सेप्ट’ लागू गर्ने, २४ सै घण्टा सीमा अपराध सम्पर्क प्रणाली स्थापना गर्ने र स्थानीय समस्यालाई स्थानीय तहमै समाधान गर्ने संयन्त्र विकासका लागि पहल गर्ने उनले उल्लेख गरे ।

यसैगरी, पर्यटन प्रवर्द्धनका लागि भारत सरकारले आफ्ना कर्मचारीलाई उपलब्ध गराउने ‘लिभ ट्राभल कन्सेसन स्किम’ नेपालमा पनि आकर्षित गर्न सकिने सम्भावना पाण्डेले औँल्याएका छन् । वार्षिक तीन करोडभन्दा बढी भारतीय नागरिक विदेश भ्रमणमा जाँदा नेपालमा दुई लाख ९२ हजार मात्रै आउनु न्यून रहेको भन्दै उनले भारतका विभिन्न सहरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायतका गन्तव्यमा हवाई सञ्जाल विस्तार गर्न पहल गर्ने बताए ।

दुई देशबीच जनस्तरको सम्बन्ध थप मजबुत बनाउन विश्वविद्यालय, थिंक ट्याङ्क र संसद् तहमा सहकार्य बढाउने ‘ट्र्याक–टु’ कूटनीतिलाई अघि बढाउने योजना पनि उनले प्रस्तुत गरेका छन् । पाण्डेले एक वर्षभित्र नेपाल–भारत महिला सांसद मञ्च गठन गर्ने र भारतीय विश्वविद्यालयमा ‘नेपाल चेयर’ स्थापना गर्न पहल गर्ने घोषणा गरे ।

भुटानका लागि समेत गैरआवासीय राजदूतको जिम्मेवारी पाउने पाण्डेले आफ्नो विद्यावारिधि भुटान मामिलामै रहेकाले दुई देशबीचको सम्बन्ध विस्तारमा सहज हुने विश्वास व्यक्त गरे । उनले नेपालका शरणार्थी शिविरमा रहेका करिब ६ हजार पाँच सय ल्होत्साम्पा (भुटानी शरणार्थी) को सम्मानजनक स्वदेश फिर्तीका लागि भुटान सरकारसँग गम्भीर संवाद अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।