भान्छामा साङ्ला र भुसुना भेटिएपछि मन्त्र थकालीलाई २ लाख ५० हजार जरिवाना
अनुगमनका क्रममा रेस्टुरेन्टको भान्छाको सरसफाइ कमजोर रहेको, पकाइएका खाद्य पदार्थ नछोपी भण्डारण गरिएको तथा फ्रिज र भान्छा कोठामा साङ्ला र भुसुना भेटिएको पाइएको विभागले जनाएको छ ।
काठमाडौं । महाराजगञ्जस्थित मन्त्र थकालीको भान्छामा साङ्ला र भुसुना भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ । ग्रिन तारा हस्पिटालिटीद्वारा सञ्चालित उक्त रेस्टुरेन्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको हो ।
शनिबार रेस्टुरेन्टको खानामा किरा परेको भन्दै विभागमा टेलिफोनमार्फत उजुरी प्राप्त भएपछि र्यापिड रेस्पोन्स टिमले संयुक्त अनुगमन गरेको थियो । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधि सहभागी थिए ।
अनुगमनका क्रममा रेस्टुरेन्टको भान्छाको सरसफाइ कमजोर रहेको, पकाइएका खाद्य पदार्थ नछोपी भण्डारण गरिएको तथा फ्रिज र भान्छा कोठामा साङ्ला र भुसुना भेटिएको पाइएको विभागले जनाएको छ ।
टोलीले अनुगमनका क्रममा भेटिएका कैफियत तत्काल सुधार गर्न निर्देशन दिएको छ । साथै, सुधारका प्रमाणसहित सात दिनभित्र विभागमा उपस्थित हुन रेस्टुरेन्टलाई भनिएको छ ।
तोकिएको अवधिभित्र निर्देशनअनुसार सुधार नगरेमा प्रचलित खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप कारबाही गरिने विभागले जनाएको छ ।