हर्क साम्पाङले भने- भोटेकोशी पछि बुढीगण्डकी यो प्रकोप अब प्राकृतिक जस्तो लाग्न छोड्यो, यो षड्यण्त्र हुन सक्छ
उनले लगातारका बाढीका घटनालाई प्राकृतिक विपद्मा मात्रै सीमित गरेर हेर्न नहुने आशय व्यक्त गर्दै सम्भावित षड्यन्त्र र भूराजनीतिक अवस्थाबारे प्रश्न उठाएका हुन् ।
काठमाडौं । नेपालमा भोटेकोशीपछि बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीलाई लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विभिन्न आशंका व्यक्त गरेका छन् । उनले लगातारका बाढीका घटनालाई प्राकृतिक विपद्मा मात्रै सीमित गरेर हेर्न नहुने आशय व्यक्त गर्दै सम्भावित षड्यन्त्र र भूराजनीतिक अवस्थाबारे प्रश्न उठाएका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै साम्पाङले दुई नदीमा क्रमशः आएको बाढीको प्रसंग उल्लेख गरेका छन् । उनले यसका पछाडि प्राकृतिक कारणबाहेक अन्य पक्ष पनि हुन सक्ने सम्भावनातर्फ संकेत गरेका छन् । तर, बाढीलाई कुनै षड्यन्त्र वा भूराजनीतिक गतिविधिसँग जोड्ने दाबीको पुष्टि गर्ने प्रमाण सार्वजनिक भएको छैन ।
गोरखाको बुढीगण्डकी क्षेत्रमा आएको बाढीबारे प्रारम्भिक विवरणअनुसार चुमनुब्री क्षेत्रमा सुक्खा पहिरो खस्दा स्यार खोला थुनिएको र पछि थुनिएको पानी एक्कासि बगेको थियो । उक्त बाढीले विभिन्न बस्तीमा क्षति पुर्याउनुका साथै घर तथा पुलसमेत बगाएको बताइएको छ ।
साम्पाङले बाढीको कारणबारे आशंका व्यक्त गरे पनि घटनाको वास्तविक कारण यकिन गर्न सम्बन्धित निकायको आधिकारिक अनुसन्धान र भौगर्भिक अध्ययन आवश्यक देखिन्छ ।