बूढीगण्डकी बाढी: चुमनुब्रीका ३५ घर बगे

चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार चुमनुब्री गाउँपालिका–३ का विभिन्न बस्तीमा बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आएको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा समेत व्यापक क्षति पुर्‍याएको छ ।

चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार चुमनुब्री गाउँपालिका–३ का विभिन्न बस्तीमा बाढीले ठूलो क्षति पुर्‍याएको छ । आइतबार बिहान ४ बजे बाढी गाउँमा पसेपछि स्थानीयवासी ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भागेका थिए ।

बाढीका कारण घर तथा बस्तीमा क्षति पुगेपछि आसपासका क्षेत्रमा त्रास फैलिएको छ । नदीमा पानीको बहाव बढ्ने जोखिम कायम रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका विभिन्न बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए ।

उनका अनुसार खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ ।

हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन । बाढीले पुर्‍याएको भौतिक क्षतिको विस्तृत विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।