बुढीगण्डकीमा ठूलो बाढी, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह
नदीमा पानीको बहाव अत्यधिक बढेपछि तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित तथा उच्च स्थानमा जान आग्रह गरिएको छ ।
पोखरा । गोरखाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बुढीगण्डकी नदीमा ठूलो बाढी आएको आशंका गरिएको छ । नदीमा पानीको बहाव अत्यधिक बढेपछि तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित तथा उच्च स्थानमा जान आग्रह गरिएको छ ।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार आइतबार बिहानै नदीमा ठूलो आवाजसहित पानीको बहाव बढेको हो । सुक्खा पहिरोका कारण नदी थुनिएर एक्कासि पानीको बहाव बढेको हुन सक्ने आशंका गरिएको छ ।
बाढी तल्लो तटीय क्षेत्रतर्फ अघि बढिरहेकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न सापकोटाले स्थानीयवासीलाई आग्रह गरेका छन् । सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन र तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।