बूढानीलकण्ठमा २१ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, भाडाको घरमै चलाइएको थियो सुन प्रशोधन केन्द्र

अनुसन्धानका क्रममा सुन प्रशोधनका लागि प्रयोग गरिएको घर अमेरिकामा बस्ने एक नेपालीको रहेको खुलेको छ ।

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा भाडाको घरमा अवैध रूपमा सुन प्रशोधन तथा कारोबार भइरहेको खुलेको छ। प्रहरीले बिहीबार राति छापा मारेर २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोप्य सूचनाका आधारमा छापा मार्दा सुन प्रशोधनमा प्रयोग हुने विभिन्न मेसिन, उपकरण र रसायनसमेत बरामद गरेको हो ।

प्रहरीका अनुसार छापा मार्न टोली पुग्दा पक्राउ परेका तीनै जना गाडी चढेर निस्किने तयारीमा थिए। प्रहरीले गाडी रोकेर जाँच गर्दा सुरुमा करिब दुई किलो सुन फेला पारेको थियो । त्यसपछि उनीहरू बस्दै आएको घरमा प्रवेश गरी थप सुन तथा प्रशोधनका उपकरण बरामद गरिएको थियो ।

घरभित्र प्रवेश गर्ने क्रममा चिनियाँ नागरिकहरूले प्रहरी टोलीमाथि हातपातको प्रयास गरेको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले तस्करी गरी अर्धठोस अर्थात् पेस्टको अवस्थामा ल्याइएको सुनलाई विभिन्न मेसिन र रसायन प्रयोग गरेर गाल्ने तथा बिस्कुट आकारमा ढाल्ने गरेको पाइएको छ।

प्रहरीले छापा मार्दा प्लास्टिकमा राखिएको १० किलो ७५२ ग्राम अर्धठोस सुन र तयारी अवस्थामा रहेका ११ वटा बिस्कुट आकारका सुनका टुक्रा गरी १० किलो ९९७ ग्राम सुन बरामद गरेको छ । दुवैको तौल जोड्दा कुल २१ किलो ७५० ग्राम सुन हुन्छ ।

उक्त सुन हङकङबाट हवाईमार्ग हुँदै नेपाल भित्र्याइएको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ । सुनको स्रोत, तस्करीमा संलग्न व्यक्तिहरू र कारोबारको सञ्जालबारे थप अनुसन्धान भइरहेको छ ।

अनुसन्धानका क्रममा सुन प्रशोधनका लागि प्रयोग गरिएको घर अमेरिकामा बस्ने एक नेपालीको रहेको खुलेको छ । चिनियाँ नागरिकहरूले उक्त घर गत साउनदेखि मासिक तीन लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी लिएको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले घरधनीलाई चार महिनाको भाडासमेत अग्रिम भुक्तानी गरेका थिए। महँगो भाडामा घर लिएर सुन प्रशोधन तथा अवैध कारोबार सञ्चालन गरिएको घटनाले यसमा संलग्न सञ्जालबारे थप अनुसन्धान गर्नुपर्ने देखिएको छ ।

प्रहरीले पक्राउ परेका तीन चिनियाँ नागरिकसँगै सुन तस्करीमा संलग्न अन्य व्यक्ति, सुन नेपाल भित्र्याइएको मार्ग र कारोबारको सम्भावित सञ्जालबारे अनुसन्धान अघि बढाएको छ ।