नयाँ बसपार्कमा टिकट लिन रातिदेखि यात्रुको लाइन

मल्लले बझाङ, बाजुरा र धनगढी जाने यात्रु आज रातिदेखि नै नयाँबसपार्कमा आएर टिकटको लाइनमा बसेको बताए ।

काठमाडौँ । दसैँको अग्रिम टिकट खुल्नुअघि नै काठमाडौँको नयाँ बसपार्कमा यात्रुको लाइन लागेको छ । सरकारले दसैँमा घर जानका लागि शुक्रबारदेखि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको थियो ।

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबिच यही असोज २० गते मङ्गलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । केही जिल्लाका यात्रु भने आजै रातिदेखि टिकट लिन लाइनमा बसेका छन् ।

नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले बिहीबार राति ९ः०० बजेदेखि टिकट लिनका लागि यात्रुले लाइन बस्न सुरु गरेको जानकारी दिए ।

मल्लले बझाङ, बाजुरा र धनगढी जाने यात्रु आज रातिदेखि नै नयाँबसपार्कमा आएर टिकटको लाइनमा बसेको बताए । दसैँको अग्रिम टिकट बुकिङका लागि लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा १५ टिकट काउन्टर थप गरेको छ ।