बौद्धिक सम्पत्ति संरक्षणबारे अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग छलफल
काठमाडौं । नेपालमा बौद्धिक सम्पत्तिको संरक्षण, ट्रेडमार्क सुरक्षा तथा नवप्रवर्तनलाई प्रभावकारी बनाउन स्पष्ट, पूर्वानुमानयोग्य र एकरूप कानुनी व्यवस्था आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् । नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते आयोजित छलफलमा सहभागी व्यवसायी तथा कानुनी प्रतिनिधिले बौद्धिक सम्पत्ति संरक्षणसँग सम्बन्धित विभिन्न समस्या र चुनौतीबारे धारणा राखेका हुन् ।
कार्यक्रममा नेपालस्थित अमेरिकी वाणिज्य संघका सदस्य कम्पनीका ३० भन्दा बढी कानुनी प्रतिनिधि तथा व्यवसायिक नेतृत्वकर्ताको सहभागिता थियो । छलफलमा नेपालमा बौद्धिक सम्पत्तिको संरक्षण, ट्रेडमार्कको सुरक्षा, नवप्रवर्तन र व्यवसायिक विश्वासलगायत विषयमा विचार आदानप्रदान भएको थियो ।
दक्षिण एसियाका लागि अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयका बौद्धिक सम्पत्ति प्रतिनिधि शैलेन्द्र भूमरलकर तथा वरिष्ठ वाणिज्य विशेषज्ञ एवं बौद्धिक सम्पत्ति नीति सल्लाहकार शिल्पी झाले व्यवसायीका अनुभव, समस्या र चासोबारे प्रत्यक्ष जानकारी लिएका थिए ।
छलफलमा सहभागी व्यवसायीले ट्रेडमार्कको नक्कल, त्यसबाट उपभोक्तामा पर्न सक्ने भ्रम, ब्रान्डको प्रतिष्ठा र व्यवसायिक मूल्यको संरक्षण, स्रोत–कोड चोरी, सिर्जनशील उद्योगको संरक्षण तथा अमूर्त वस्तु र सेवामा लाग्ने करलगायत विषय उठाएका थिए ।
उनीहरूले बौद्धिक सम्पत्तिको संरक्षण तथा कार्यान्वयनमा थप स्पष्टता, पूर्वानुमान गर्न सकिने व्यवस्था, समयमै कारबाही र कानुनको एकरूप कार्यान्वयन आवश्यक रहेको बताएका थिए । नेपालस्थित अमेरिकी वाणिज्य संघका अध्यक्ष कैलाश विजयानन्दले बौद्धिक सम्पत्ति पछिल्लो समय कानुनी वा नियामकीय विषयमा मात्र सीमित नरही व्यवसायिक विश्वाससँग जोडिएको बताए। नवप्रवर्तन, लगानी र ब्रान्ड निर्माणका लागि व्यवसायीलाई विश्वासिलो वातावरण आवश्यक पर्ने उनको भनाइ थियो ।
अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयका प्रतिनिधिले बौद्धिक सम्पत्तिसम्बन्धी जनचेतना अभिवृद्धि तथा कानुन कार्यान्वयनमा सम्बन्धित निकाय र सरोकारवालासँग गर्दै आएको सहकार्यबारे जानकारी दिएका थिए । उनीहरूले बौद्धिक सम्पत्तिसम्बन्धी उपलब्ध स्रोतसाधन तथा प्रगतिका लागि प्रदान गरिने अनुदान कार्यक्रमबारे समेत जानकारी गराएका थिए ।
छलफलमा पेरिस महासन्धि तथा विश्व व्यापार संगठनअन्तर्गतको व्यापारसम्बन्धी बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी सम्झौताअनुसार नेपालले गरेका प्रतिबद्धताबारे समेत चर्चा भएको थियो । सहभागीले बौद्धिक सम्पत्ति संरक्षणलाई प्रभावकारी बनाउन जनचेतना, स्पष्ट कानुनी व्यवस्था, समयमै कारबाही र कानुनको एकरूप कार्यान्वयनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
नेपालस्थित अमेरिकी वाणिज्य संघका अनुसार बलियो बौद्धिक सम्पत्ति प्रणालीले अन्तर्राष्ट्रिय ब्रान्डको संरक्षणसँगै नेपाली नवप्रवर्तनकर्ता, उद्यमी, सिर्जनशील क्षेत्र र प्रविधि कम्पनीलाई समेत लाभ पुर्याउन सक्छ । यस्तो प्रणालीले अन्तर्राष्ट्रिय लगानीकर्ता र स्थापित ब्रान्डलाई नेपालमा लगानी तथा व्यवसाय विस्तारका लागि थप विश्वासको वातावरण बनाउन सहयोग पुग्ने संघको भनाइ छ ।
कार्यक्रमका सहजीकर्ता तथा नेपालस्थित अमेरिकी वाणिज्य संघका कार्यकारी निर्देशक अमिर आर. थापाले बौद्धिक सम्पत्तिबारे सचेतना बढाउने मात्र नभई समस्या पहिचान, समाधान र सहकार्यको दिशामा अघि बढ्नुपर्ने बताए । उनले अमेरिका–नेपाल व्यवसायिक सम्बन्धअन्तर्गत व्यवसायीलाई नवप्रवर्तन, लगानी र व्यवसाय विस्तारका लागि थप विश्वासिलो वातावरण निर्माण गर्नु संघको उद्देश्य रहेको बताए ।
छलफलले अमेरिकी तथा नेपाली व्यवसाय, अमेरिकी संस्थाहरू र नेपालको नीति तथा नियामकीय निकायबीच समन्वय तथा सहकार्य बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसबाट व्यापार, लगानी, नवप्रवर्तन तथा नेपाल–अमेरिका व्यवसायिक सम्बन्ध थप सुदृढ हुने सहभागीको विश्वास छ ।