शंकर अग्रवाललाई थुनामुक्त गर्न माग गरिएको बन्दीप्रत्यक्षीकरण रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार

बुधबार सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले सर्वोच्च प्रशासनले रिट दरपीठ गर्ने निर्णयलाई सदर गरेको हो ।

काठमाडौं । व्यवसायी शंकरलाल अग्रवाललाई थुनामुक्त गर्न माग गर्दै दायर गर्न खोजिएको बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले सर्वोच्च प्रशासनले रिट दरपीठ गर्ने निर्णयलाई सदर गरेको हो ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले अग्रवाललाई थुनामा पठाउने आदेश दिएपछि उनका परिवारले उनलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट लिएर गएका थिए । तर सर्वोच्च प्रशासनले रिट दरपीठ गरिदिएको थियो ।

प्रशासनको उक्त निर्णयविरुद्ध अग्रवाल पक्षले मंगलबार सर्वोच्च अदालतको इजलासमा निवेदन दिएको थियो । सोही निवेदनमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश पौडेलको इजलासले प्रशासनले रिट दरपीठ गर्ने निर्णयलाई नै सदर गरेको हो ।

यससँगै विशेष अदालतको आदेशविरुद्ध अग्रवाल पक्षले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिटमार्फत चुनौती दिन खोजेको प्रयास तत्कालका लागि अघि बढ्न सकेन ।

विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दाको थुनछेक बहसका लागि उपस्थित भएका अग्रवाललाई अदालतले थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशपछि उनी बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका थिए ।